वाणिज्य मन्त्रीको टिप्पणीपछि भारतमा जन्मिएको स्टार्ट-अप बहस, आइसक्रिम बनाउने कि चिप्स

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
वाणिज्य मन्त्रीको टिप्पणीपछि भारतमा जन्मिएको स्टार्ट-अप बहस, आइसक्रिम बनाउने कि चिप्स

भारतका वाणिज्य मन्त्री पियूष गोयलको हालैको टिप्पणीले भारतीय स्टार्ट-अप इकोसिस्टममा ठूलो चर्चा र बहस सुरु गरेको छ। गोयलले भारतीय स्टार्ट-अपहरूलाई उपभोक्ता उत्पादनहरूको सिमित दायरामा नबसेर प्रविधिमा ठूलो पुनर्विचार गर्न आग्रह गरेका छन्।

मन्त्री गोयलले भारतीय स्टार्ट-अपहरूको ध्यान प्रायः जीवनशैलीसँग सम्बन्धित उत्पादनहरूमा जस्तै आइसक्रिम र खाद्य डेलिभरी एप्समा केन्द्रित भएको बताउँदै त्यसको सट्टा ‘डिपटेक’ प्रविधिमा ध्यान दिनुपर्ने बताएका छन्।

मन्त्री गोयलले यो कुरा ‘स्टार्टअप महाकुंभ’ नामक सरकारी सम्मेलनमा राखेका थिए, जहाँ देशभरका उद्यमी र लगानीकर्ता सहभागी थिए।

उनले सम्मेलनमा भने, “चीन जस्ता देशहरूमा मेसिन लर्निङ, रोबोटिक्स र नयाँ प्रकारका कारखाना विकास हुँदैछन्। उनीहरूले नयाँ-नयाँ प्रविधिहरूमा उत्कृष्टता हासिल गरिरहेका छन्, जबकि हामी अझै आइसक्रिम जस्ता जीवनशैलीका उत्पादनहरूमा केन्द्रित छौं।” उनले प्रश्न गरे, “हामी आइसक्रिम बनाउन चाहन्छौं कि सेमीकन्डक्टर चिप्स?”

मन्त्री गोयलले भारतीय स्टार्टअप घरघरमा खाना पुर्याउने, अनलाइन सट्टेबाजी लगाउने प्लेटफर्महरू र आर्टिसन ब्रान्डहरूको विकास भइरहेको बताए। “हामी अझ ठूलो बन्न चाहन्छौं भने अब हामीले साहसिक कदम चाल्नैपर्छ। प्रतिस्पर्धाबाट नडराई अगाडि बढ्नुपर्छ।” उनले भने।

उनको यस्तो भनाइपछि धेरै भारतीय उद्यमीहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। कतिपयले मन्त्रीको भनाइलाई ‘वास्तविकता बोध गराउने’ र ‘ठूलो सोचतर्फ उन्मुख गराउने’ भन्दै समर्थन गरेका छन् भने केहीले यसलाई भारतीय स्टार्टअप इकोसिस्टमको मूल्यांकन नगरी गरिएको आलोचना भनेका छन्।

ज़ेप्टो नामक क्विक-कमर्स एपका सह-संस्थापक आदित पलिचाले ट्वीटरमार्फत मन्त्रीको भनाइप्रति असहमति जनाउँदै, उपभोक्ता इन्टरनेट कम्पनीहरूकै नवप्रवर्तनले प्रविधिको बाटो खोलेको तर्क राखेका छन्। उनले गुगल र फेसबुक जस्ता कम्पनीहरू पनि सुरुमा यस्तै उपभोक्तामुखी व्यवसायहरूबाट सुरु भएको र पछि तिनैले नै क्लाउड कम्प्युटिङ र एआईमा ठूलो योगदान दिएको तर्क राखेका छन्।

यता, एञ्जल इन्भेष्टर मोहनदास पाईले पनि डिपटेक प्रविधिमा लगानीको अभाव औंल्याए। उनले दीर्घकालीन नाफा दिने ‘डिपटेक’ स्टार्टअपहरूमा सरकारी र निजी क्षेत्र दुवैले लगानी गर्न हिच्किचाउने गरेको बताए। ‘डिपटेक’ प्रविधिको विकासमा समय लाग्ने, खर्च बढी हुने र बजार पाउन गाह्रो हुने भएकाले यस्तो स्टार्टअपमा ‘धैर्यपूर्ण पैसा’ चाहिने, जस्को अहिले अभावमा भएको तर्क राखे। उनले उदाहरण दिँदै भने, हालसालै एउटा भारतीय कम्पनीले बस चार्ज गर्न सकिने छिटो ब्याट्री विकास गर्‍यो तर त्यसको प्रयोगकर्ता नै फेला परेन।

अन्य उद्यमीहरूले पनि भारतमा प्रविधिमूलक स्टार्टअप सुरु गर्दा भोगेका समस्याहरु सामाजिक संजालमा लेखेका छन्। कसैले कर्जा नपाएको गुनासो गरेका छन् भने कसैले कच्चा पदार्थमा लाग्ने अत्यधिक आयात कर र सरकारी कागजी प्रक्रिया झन्झटिलो भएको उल्लेख गरेका छन्। यस्ता अवरोधले प्रविधिमा आधारित नयाँ सोच अघि बढ्न नसकेको उनीहरूको भनाइ छ।

यद्यपि, केहीले मन्त्रीको भनाइलाई सकारात्मक रूपमा पनि बुझे। एडटेक एप ‘प्रोक्सी ज्ञान’ की संस्थापक विरोनिका एसले भारतले एआई र सेमिकन्डक्टरजस्ता क्षेत्रमा नेतृत्व लिन चाहने हो भने सरकारले व्यवहारिक अवरोधहरू हटाएर मार्ग प्रशस्त गरिदिनुपर्ने बताइन्। लगानीकर्ता कुषल भागियाले पनि मन्त्रीको भनाइलाई समर्थन गर्दै भारतमा अझै धेरै ‘डिपटेक’ स्टार्टअपहरू नदेखिएको स्वीकार गरे। उनले, भारतको धेरैजसो प्रविधि प्रतिभा विदेशिएका र देशमै प्रेरणादायी ‘डिपटेक’ संस्थापकहरूको कमी भएको स्वीकार गरे।

यो बहससँगै मिडियाले भारत र चीनको स्टार्टअप यात्राको तुलना गर्न थालेका छन्। बिजनेस स्ट्याण्डर्ड मा प्रकाशित एक लेख अनुसार, २०२३ मा भारतको जम्मा पाँच प्रतिशत स्टार्टअप लगानी मात्र ‘डिपटेक’ क्षेत्रमा गयको देखिएको छ, जबकि चीनमा यो संख्या ३५ प्रतिशत थियो। चीनले उच्च प्रविधिको विकासलाई प्राथमिकता दिँदै २०२४ मा मात्र ३६१ अर्ब डलर बराबरको कर छुट दिएको तथ्य पनि सार्वजनिक भएको छ।

भारतमा अहिले ४,००० जति ‘डिपटेक’ स्टार्टअप छन् र यो संख्या २०३० सम्ममा १०,००० पुग्ने अनुमान गरिएको छ। २०२४ मा यस्ता स्टार्टअपले १.६ अर्ब डलर लगानी प्राप्त गरेका छन् जुन अघिल्लो वर्षको तुलनामा ७८ प्रतिशतले बढी हो। तर अझै पनि भारतले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न दीर्घकालीन योजना, लगानी र नीति आवश्यक भएको बिबिसीमा उल्लेख गरिएको छ।

बिबिसीबाट अनुदित:

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स