राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताएका छन्।
साना तथा मझौला व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । नेपालमा समस्याको व्याख्या गर्ने र भाषण गर्नेको कमी नभए पनि व्यवहारमा परिवर्तन ल्याउनेको अभाव रहेको उनको भनाइ थियो ।
“हामी व्याख्या धेरै गर्छौँ, तर बदल्ने कुरामा ध्यान दिँदैनौँ, अब व्याख्या मात्र होइन, ठोस काम गरेर देखाउनुपर्ने बेला आएको छ”, अध्यक्ष दाहालले भने । बजेट निर्माण हुनुभन्दा अगाडि नै अर्थमन्त्रीसँग बसेर व्यवसायीका समस्याबारे गम्भीर छलफल गर्ने उनले उल्लेख गरे । बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदर, प्रशासनिक झन्झट, नीतिगत अस्पष्टता र बजारमा बिचौलियाको दबदबाका कारण व्यवसायी मारमा परेका अध्यक्ष दाहालले बताए ।
अध्यक्ष दाहालले सङ्घीय संसद् र विशेष गरी राष्ट्रियसभाले व्यवसायीको हकहितका लागि आवश्यक कानुन निर्माण र संशोधनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कर प्रणालीलाई सरल र व्यवसायीमैत्री बनाउन, युवा उद्यमीलाई प्रोत्साहन गर्न र बजारमा पारदर्शिता कायम गर्न राज्यका सम्बन्धित निकाय सक्रिय हुनुपर्नेमा जोड दिए।
















प्रतिकृया