instainsta

सन् २०२६ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल कति औं स्थानमा ?

सन् २०२६ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल कति औं स्थानमा ?
AdvertisementAds

हेन्ले पासपोर्ट इन्डेक्स–२०२६ अनुसार विश्वस्तरमा नेपाली पासपोर्टको हैसियत खस्किएको छ। सन् २०२५ मा ९४औँ स्थानमा रहेको नेपाली पासपोर्ट सन् २०२६ मा दुई स्थान तल झर्दै ९६औँ स्थानमा पुगेको छ। प्रतिवेदनअनुसार नेपाली पासपोर्टधारकले हाल ३५ देशमा भिसा फ्री (बिना भिसा) यात्रा गर्न सक्छन्, जबकि सन् २०२५ मा नेपाली पासपोर्टबाट ३८ देशमा बिना भिसा यात्रा सम्भव थियो।

छिमेकी मुलुक भारतको पासपोर्टको अवस्था भने सन् २०२६ मा सुधार भएको छ। अघिल्लो वर्ष ८५औँ स्थानमा रहेको भारतीय पासपोर्ट पाँच स्थान उक्लिँदै ८०औँ स्थानमा पुगेको छ। भारतीय पासपोर्टधारकले ५५ देशमा बिना भिसा यात्रा गर्न पाउँछन् र यस स्थानमा भारतसँगै अल्जेरिया र नाइजर रहेका छन्।

सन् २०२६ मा पनि सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका पासपोर्टधारकले विश्वका २२७ गन्तव्यमध्ये १९२ गन्तव्यमा भिसा फ्री यात्रा गर्न सक्छन्। सिंगापुरपछि जापान र दक्षिण कोरियाको पासपोर्ट संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन्, जसबाट १८८ देशमा बिना भिसा यात्रा गर्न सकिन्छ।

तेस्रो स्थानमा डेनमार्क, लक्जेम्बर्ग, स्पेन, स्विडेन र स्विट्जरल्यान्ड रहेका छन्, जसका पासपोर्टधारकले १८६ देशमा भिसा फ्री यात्रा गर्न पाउँछन्। चौथो स्थानमा अस्ट्रिया, बेल्जियम, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, आयरल्यान्ड, इटाली, नेदरल्यान्ड्स र नर्वे रहेका छन्, जसका पासपोर्टबाट १८५ गन्तव्यमा बिना भिसा यात्रा सम्भव छ। पाँचौँ स्थानमा हंगेरी, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्, जसका पासपोर्टधारकले १८४ गन्तव्यमा भिसा फ्री यात्रा गर्न सक्छन्।

हेन्ले पासपोर्ट इन्डेक्सले भिसा फ्री प्रवेशका आधारमा विश्वका पासपोर्टहरूको स्तर निर्धारण गर्छ। अर्थात् जुन देशको पासपोर्ट प्रयोग गरेर सबैभन्दा धेरै गन्तव्यमा बिना भिसा यात्रा गर्न सकिन्छ, त्यही पासपोर्टलाई सबैभन्दा शक्तिशाली मानिन्छ। यो सूचकांक अन्तर्राष्ट्रिय हवाई यातायात संघ (IATA) बाट प्राप्त विशेष तथ्यांकका आधारमा तयार गरिएको हो। सूचीअनुसार विश्वकै सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ, जसका पासपोर्टधारकले मात्र २४ देशमा भिसा फ्री यात्रा गर्न पाउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स