पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड सम्पन्न गरेपछि अब सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्न लागेको हो।
अब कम्पनीले ४५ करोड रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो। यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि छिटोमा फागुन १५ गते बन्द हुनेछ भने माग पर्याप्त नभए ढिलोमा फागुन २६ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशन प्रयोजनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘IRN BB+ (डबल बी प्लस) इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

















प्रतिकृया