अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा रहेका नेपालीहरूले सरकारबाट पाउँदै आएका विभिन्न सामाजिक सहुलियतहरू उपभोग गर्न नपाउने भएका छन्। ट्रम्प सरकारले स्वास्थ्य, आवास, शिक्षा र पारिवारिक सहायता जस्ता क्षेत्रमा विदेशी नागरिकलाई दिइँदै आएको सुविधा सीमित गरेको हो। वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अनुसार नयाँ नियम उल्लंघन गरी सहुलियत लिएको पाइएमा सम्बन्धित व्यक्तिको भिसा तथा ग्रिनकार्डसमेत रद्द हुन सक्ने जोखिम रहेको छ।
अमेरिकी सरकारले सहुलियतपूर्ण स्वास्थ्य सेवा, सरकारी आवास, सामाजिक सुरक्षा तथा शैक्षिक सहायता विदेशी नागरिकलाई नदिने निर्णय गरेको दूतावासले जनाएको छ। साथै, हाललाई आप्रवासी भिसा पनि बन्द गरिएको छ, जसको प्रभाव अध्ययन, भ्रमण, रोजगारी र व्यवसायका लागि अमेरिका पुगेका नेपालीहरूमा पर्ने देखिएको छ।
नेपाली दूतावासले गलत विवरण पेश गरी सरकारी सहायता लिने कार्यबाट टाढा रहन आग्रह गर्दै विशेषगरी B1/B2 भिसामा जानेहरूलाई भिसाको दुरुपयोग नगर्न चेतावनी दिएको छ। पछिल्लो नीति परिवर्तनले अमेरिकामा रहेका तथा जान चाहने नेपालीहरूका लागि कानुनी चुनौती थपिने संकेत देखिएको दूतावासको भनाइ छ।


प्रतिकृया