शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्तावसहित १८औँ वार्षिक साधारण सभा असोज २८ गते बोलाएको छ।
बैंकको साधारण सभा बुटवलस्थित होटल सेफ्रन सि.के. प्रालि. (हायात प्लेस) मा बिहान ११ः३० बजे हुनेछ। सभामा वार्षिक तथा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेस हुनेछन्।
बैंकले चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ ९९ पैसा नगद लाभांश र ६ प्रतिशत अर्थात् ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस सेयरपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि रहेको छ।
साधारण सभा प्रयोजनका लागि असोज १३ गते सेयरधनी दर्ता किताब बन्द अर्थात् बुक क्लोज हुनेछ। त्यसअनुसार असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नुका साथै सभामा सहभागी हुन सक्नेछन्।

प्रतिकृया