सेयर कर्जा ११३ अर्ब माथि; ६ महिनामै बढ्यो २३ अर्ब
सेयर कर्जाको ग्राफ उकालो लागेको छ। राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार २०८१ पुष मसान्त सम्ममा बैंक वित्तिय संस्थाहरुले ११३ अर्ब ७७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्। २०८० पुषमा यस्तो कर्जा ८४ अर्ब २९ करोड रुपैयाँ रहेको थियो। १ वर्षको अवधिमा सेयर कर्जा २९ अर्ब रुपैयाँले बढेको देखिन्छ। साउनदेखि पुष सम्मको ६ महिनाको अवधिमा मात्रै २३ अर्ब रुपैयाँले सेयर धितो कर्जा बढेको देखिन्छ।
पछिल्ला महिनाहरुमा बैंक वित्तिय संस्थाहरु बाट प्रवाह हुने सेयर धितो कर्जा उल्लेख्य बढेको देखिन्छ। पुष महिनामा मात्रै ७ अर्ब कर्जा प्रवाह भएको देखिन्छ। १ करोड माथिको कर्जा बढेको देखिन्छ। २०८१ पुष सम्ममा बैंक वित्तिय संस्थाहरुले १ करोड माथि ७५ अर्ब ४४ करोड, ५० लाख देखि १ करोडसम्म १४ अर्ब २८ करोड, २५ लाख देखि ५० लाख सम्म १६ अर्ब १४ करोड र २५ लाख भन्दा कम ७ अर्ब ९० करोड सेयर कर्जा प्रवाह गरेका छन्। पछिल्लो १ वर्षमा कुल २९ अर्ब सेयर कर्जा वृद्धि हुँदा १ करोड माथिको कर्जा २० अर्बभन्दा धेरै बढेको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत सेयर धितो कर्जाको २० करोड रुपैयाँको सीमा हटाएपछि संस्थागत कर्जा बढेको बुझिएको छ। त्यस्तै व्यक्तिगत लगानीकर्ताहरुले पनि ऋण लिएरै सेयर किन्ने बेला हो भन्ने आँकलन गर्दै सेयर कर्जाको माग बढाउँदा सेयर कर्जाको मात्रा बढेको हो।