नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार चौधरीले बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो आम मतदातासँग सल्लाह, सुझाव र योजना माग्ने उद्देश्य राखेका छन्। यसका लागि उनले आफ्नो वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गरी नागरिकहरूलाई आफ्नो योजना र आवश्यकताहरू विवरणसहित पठाउन आग्रह गरेका छन् र केही समय निकालेर फारम भर्न अपिल पनि गरेका छन्।
चौधरीको उद्देश्य राजनीतिमा जनताको भूमिकालाई केवल मतदानसम्म सीमित नराखी नीति निर्माणको तहसम्म पुर्याउनु हो। प्रतिष्ठित उद्यमी चौधरीले भने, “मलाई थाहा छ, कुनै पनि ठूलो योजना सफल बनाउन सही व्यवस्थापन र सबैको सहकार्य आवश्यक पर्छ। त्यसैले चुनावी संकल्पपत्र बन्द कोठामा बसेर होइन, तपाईंहरूको माझमा आएर लेख्न चाहन्छु। बर्दघाटको सडकदेखि सुस्ताको पुलसम्म, गण्डकको नहरदेखि दाउन्नेको फेदीसम्म, किसानको खेतदेखि बजारसम्म, गुणस्तरीय शिक्षादेखि युवा रोजगारीसम्म, जेन-जीदेखि जेन-एक्ससम्म, तपाईंको प्राथमिकता नै मेरो पहिलो काम हुनेछ।”
चौधरीले नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने उल्लेख गरेका छन् र भोटले सरकार बनाउने भए पनि समाज निर्माणमा नागरिकको सुझाव आवश्यक रहेको बताए। गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई राम्रोसँग थाहा हुने भएकाले विकास योजनामा सबैको सहकार्य अनिवार्य रहेको उनको भनाइ छ।



















प्रतिकृया