पश्चिम एशियामा बढ्दो तनावका बीच भारतको ऊर्जा आपूर्तिमा केही राहत देखिएको छ। इरानले भारतीय झण्डा बोकेका जहाजलाई हर्मुज जलडमरूमध्य पार गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कूटनीतिक तहमा नयाँ दिल्ली र तेहरानबीच भएको संवादपछि भारतीय तेल बोक्ने जहाज पुष्पक र परिमल सुरक्षित रूपमा हर्मुज पार गर्न सफल भएका छन्। तर अमेरिका, युरोप र इजरायलसँग सम्बन्धित जहाजहरूका लागि भने यो जलमार्ग अझै जोखिमपूर्ण रहेको बताइन्छ।
साउदी तेल बोकेको जहाज मुम्बई पुग्यो
यसैबीच, साउदी अरेबियाको रास तनुरा बन्दरगाहबाट १ लाख ३५ हजार मेट्रिक टन कच्चा तेल बोकेर हिँडेको ‘शेनलङ’ (Shenlong) नामको जहाज बुधबार दिउँसो १ बजे मुम्बई पुगेको छ।
यो जहाजले करिब १ लाख ३५ हजार मेट्रिक टन कच्चा तेल बोकेको छ। बुधबार दिउँसो मुम्बई बन्दरगाह पुगेको जहाजलाई साँझसम्ममा बन्दरगाहमा लगेर तेल झार्ने काम सुरु गरिएको बताइएको छ। यो तेल मुम्बईको माहुल क्षेत्रमा रहेका तेल प्रशोधन कारखानामा पठाइनेछ।
जहाजमा भारतीय, पाकिस्तानी र फिलिपिन्सका गरी २९ जना चालकदल सदस्य रहेका छन्। सबै तेल झार्न करिब ३६ घण्टा लाग्ने अनुमान गरिएको छ।
इरानले भारतलाई किन दियो छुट?
इरान र अमेरिकाबीचको युद्धपछि हर्मुज जलमार्ग अत्यन्त संवेदनशील बनेको छ। यस्तो अवस्थामा भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकर र इरानका विदेशमन्त्री अब्बास अराघची बीच फोन संवाद भएको थियो।
विश्लेषकहरूका अनुसार इरानले आफ्नै तेल निर्यात पनि निरन्तर चलिरहने भएकाले जलमार्ग पूर्ण रूपमा बन्द गर्न चाहँदैन। त्यसैले केही देशका जहाजलाई सीमित रूपमा आवतजावत गर्न दिइएको हुन सक्छ।
अझै जोखिममा भारतीय जहाज
यद्यपि स्थिति पूर्ण रूपमा सुरक्षित भने छैन। भारतका करिब २८ वटा जहाज अझै हर्मुज आसपास क्षेत्रमा रहेको बताइएको छ। कतिपय जहाजले सुरक्षा कारणले आफ्नो पहिचान संकेत बन्द गर्ने वा पहिचान लुकाउने उपायसमेत अपनाइरहेका छन्।
भारततर्फ जाँदै गरेको जहाजमाथि आक्रमण
यसैबीच भारततर्फ आउँदै गरेको मयुरी नरे नामको मालवाहक जहाजमाथि पनि आक्रमण भएको छ। अज्ञात प्रक्षेप्य लागेपछि जहाजको केही भागमा आगलागी भएको थियो र उद्धार अभियान चलाइएको थियो।
भारतको विदेश मन्त्रालयले यस घटनाको कडा निन्दा गर्दै युद्धका कारण व्यापारिक जहाजलाई निशाना बनाउनु गम्भीर चिन्ताको विषय भएको बताएको छ।
भारतको ऊर्जा सुरक्षामा ठूलो असर
भारतले आयात गर्ने आधा भन्दा बढी कच्चा तेल र ग्यास हर्मुज जलडमरूमध्य हुँदै आउने भएकाले यहाँको तनावले भारतको ऊर्जा आपूर्तिमा ठूलो असर पार्न सक्छ।













![स्थायी सरकारप्रति किन ढुक्क छैन बजार ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/zpiLUsWNYJk-HD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया