वैशाख ७ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति पाइन्छ ?
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी २०८२ वैशाख ७ गतेदेखि ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेञ्चर २०८८’ ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरमा जम्मा २५ लाख कित्ता अर्थात् २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। तीमध्ये १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ। सार्वजनिक निष्काशन हुने ऋणपत्रमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ र बाँकी ९ लाख ५० हजार कित्ता सर्वसाधारणले खरिद गर्न सक्नेछन्।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण उपलब्ध कित्तासम्म आवेदन दिन सक्नेछन्। यस ऋणपत्रको निष्काशन वैशाख १० गतेमै बन्द हुनसक्नेछ, तर माग नपुगेमा वैशाख २१ गतेसम्म खुला रहनेछ। यसमा प्राप्त हुने ७ प्रतिशत ब्याज हरेक आर्थिक वर्षको प्रथम र द्वितीय अर्धवार्षिक समाप्तिपछि कर कट्टी गरी भुक्तानी गरिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्थाहरूको तोकिएको शाखाबाट आवेदन दिन सक्नेछन्।
बैंकले यस ऋणपत्र निष्काशन गर्नुअघि क्रेडिट रेटिङ गराएकोमा केयर रेटिङ्स नेपालले ‘CARE NP A+’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।