प्रहरी कार्यालयकै डिजिटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव, ह्याकरको खोजी हुँदै
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजिटल बोर्ड सोमबार राति ह्याक भएको छ। कार्यालयको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेको थियो, जसमा अङ्ग्रेजीमा “आई लभ यू चित्रा” लेखिएको थियो।
प्रहरीका अनुसार, बोर्डलाई रिकभर गर्न अझै समय लाग्नेछ। “आज बिदाको दिन भएकाले बोर्ड राख्ने कम्पनीका प्रतिनिधिहरु रिकभर गर्न आउन सकेका छैनन्,” प्रहरीले भने। “हामी प्रयास गर्दैछौं, सम्भवतः भोलि सम्म बोर्ड रिकभर गर्न सकिन्छ।”
प्रहरीले ह्याक गर्ने व्यक्तिको पहिचान गर्न सुरु गरेको छ र यसका लागि डिजिटल बोर्डको कन्टेन्ट मेनेजमेन्ट सिस्टममा एक्सेस प्राप्त भएको आशंका गरिएको छ। ह्याकरलाई ट्र्याक गर्ने काम चलिरहेको छ र उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरिने जानकारी दिइएको छ।
यसरी डिजिटल बोर्ड ह्याक गर्ने घटनामा पछिल्लो समय वृद्धि भएको छ। केही समय अगाडि ललितपुर महानगरीय ट्राफिक प्रहरी वृत्तको बोर्ड पनि ह्याक भएको थियो।