प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ बराबर हुनेछ।
निष्काशन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ। सर्वसाधारणतर्फ छुट्याइएको कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
१० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ।
लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा असार १९ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ३० गते बैंकिङ समयपछि बन्द हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ। बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट असार ३ गते अनुमति प्राप्त गरेको थियो।

प्रतिकृया