नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार श्रीलंकाबाट स्वदेश फर्किएका छन्। पूर्वनिर्धारित तालिकाअनुसार बिहान ११:५५ बजे काठमाडौं आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
जुलाई १५ मा श्रीलंका पुगेका प्रचण्डले भ्रमणका क्रममा इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए। उनले सम्मेलनको उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए।
उद्घाटन सत्रमा उनले विश्वव्यापी शक्ति सन्तुलनमा आएको परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एशियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो धारणा राखेका थिए। समापन सत्रमा उनले एशियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र साझा संघर्षलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
भ्रमणकै क्रममा प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरम लाई विशेष अन्तर्वार्ता दिएका थिए। अन्तर्वार्तामा उनले नेपालको शान्ति प्रक्रिया, जनयुद्धदेखि लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक यात्रा, समकालीन विश्व राजनीतिमा वामपन्थी आन्दोलनका चुनौती तथा नेपालको समाजवादी रूपान्तरणको कार्यदिशाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।
श्रीलंका बसाइका क्रममा उनले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक दलहरूसँग उच्चस्तरीय भेटवार्ता पनि गरेका थिए। श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग भएको छलफलमा नेपाल र श्रीलंकाका कम्युनिस्ट आन्दोलनका अनुभव, लोकतान्त्रिक अभ्यास, आर्थिक रूपान्तरण तथा अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान भएको थियो।
त्यसैगरी, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना का महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरोसँग भएको छुट्टै भेटमा दुई देशका कम्युनिस्ट आन्दोलन, वर्तमान राजनीतिक अवस्था, दक्षिण एशियामा वामपन्थी सहकार्य, सुशासन, आर्थिक विकास तथा जनमुखी नीतिका अनुभवबारे विस्तृत छलफल भएको थियो। उक्त भेटमा नेपाल र श्रीलंकाका प्रगतिशील शक्तिबीच राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि सहमति व्यक्त गरिएको पार्टीले जनाएको छ।
भ्रमणका क्रममा प्रचण्डले विभिन्न देशबाट सम्मेलनमा सहभागी भएका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वसँग पनि भेटघाट गर्दै आपसी सम्बन्ध विस्तार गरेका थिए। सम्मेलनमा भएका छलफलले एशियाली क्षेत्रका प्रगतिशील आन्दोलनबीच सहकार्य र ऐक्यबद्धतालाई नयाँ ऊर्जा दिएको सहभागीहरूको भनाइ रहेको छ।
पार्टीका अनुसार श्रीलंका भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एशियाली वामपन्थी शक्तिहरूसँग राजनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।

प्रतिकृया