११ महिनामा काँकडभिट्टाबाट १८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ भित्रियो
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १८ अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
मेची भन्सार कार्यालयका अनुसार पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेलसहितको यो आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६० प्रतिशतले घटेको हो। तर, आयात घट्दा पनि पेट्रोलियमबाट संकलित राजस्व ५.७० प्रतिशतले वृद्धि भई ८ अर्ब ७८ करोड २७ लाख पुगेको छ।
सो अवधिमा ९३,८२४ किलोलिटर पेट्रोल, ६८,८२० किलोलिटर डिजेल, २३,४३८ मेट्रिक टन एलपी ग्यास, ६,७०८ किलोलिटर एटीएफ र २,५२० किलोलिटर मट्टितेल आयात गरिएको कार्यालयले जनाएको छ।