यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी साधनको भाडादर समायोजन (वृद्धि) गर्न सरकारसँग माग गरेको छ। महासंघले नेपालको डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य वृद्धि भएको कुरा औंल्याउँदै, वैज्ञानिक विधिबाट भाडा समायोजन गर्ने प्रावधान अनुसार तत्काल भाडादर समायोजन गर्न अनुरोध गरेको हो।
महासंघले पेट्रोलियम पदार्थको उच्च मूल्य र सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकलाई आधार मानी संघीय रुटको भाडा यातायात व्यवस्था विभाग मार्फत र प्रदेश स्तरमा सातै प्रदेश मन्त्रालयबाट भाडा समायोजन गर्न माग गरेको छ।
यातायात व्यवस्था विभागले कानून अनुसार संघीय रुटमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा वा घट्दा स्वचालित प्रणालीबाट भाडा समायोजन गर्दै आएको महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, २०६५ सालमा लागू गरिएको वैज्ञानिक प्रणाली अनुसारको भाडा समायोजन विधि हाल कार्यान्वयनमा नरहेको भन्दै महासंघ असन्तुष्ट छ।
विज्ञप्तिमा भनिएको छ:”विगत २०८१।९।२२ गतेदेखि भाडा समायोजन नभएको छ। भाडा समायोजन गर्दा सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकलाई आधार मानी वैज्ञानिक विधिबाट भाडा समायोजन गर्ने प्रावधान भए पनि लामो समयदेखि कार्यान्वयन भएको छैन। हाल पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धि भएको र १३ वटा सूचकलाई आधार मानी, संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तरगतको भाडा सातै प्रदेश मन्त्रालयबाट यथाशिघ्र समायोजन गरिदिन नेपाल सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ।”


प्रतिकृया