कुनै नीतिगत सम्बोधन नगरी सेयर बजार खोल्दा ६ प्रतिशतको नकारात्मक सर्किट; अनुहारले पुगेन, नीति चाहियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २ गते
कुनै नीतिगत सम्बोधन नगरी सेयर बजार खोल्दा ६ प्रतिशतको नकारात्मक सर्किट; अनुहारले पुगेन, नीति चाहियो

जेन जी आन्दोलनका कारण बन्द गरिएको सेयर कारोबार सोमबार खुल्यो। १० दिनपछि कारोबार खुलेको केहि मिनेटमै नेप्से सूचक ४% ले घट्यो। नेप्सेको सर्किट ब्रेकरको नियम अनुसार यदि कारोबार खुलेको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गर्ने गरिन्छ। कारोबार सुरु भएको दोश्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुन्छ भने कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले घटे वा बढे पुरै दिनको कारोबार बन्द गरिन्छ। सोहि नियम अनुसार सोमबार कारोबार बन्द भएको भयो। जम्माजम्मी ५ मिनेट कारोबार भएको बजार १६०.३३ अंकले घट्दा नेप्से सूचक २५११.९१ को बिन्दुमा आईपुगेको छ।

यो आन्दोलनका क्रममा खरबौंको सार्वजनिक र निजि सम्पत्तिमा क्षति पुगेको छ। नेप्सेमा सूचिकृत भएका कम्पनीहरुमा प्रत्यक्ष रुपमा क्षति पुगेको छ भने अरबौंको दायित्व बहन गर्नुपर्ने अवस्थामा बिमा कम्पनीहरु पुगेका छन्। लगानीकर्ताहरु त्रसित छन्। आन्दोलनले अर्थतन्त्रमा ठूलो क्षति पुगेको भएता पनि अन्तरिम सरकार बनिसकेको, विज्ञ व्यक्ति अर्थ मन्त्रीका रुपमा आईसकेको हुँदा बजारमा ठूलो गिरावट नआउने अधिकांशको आंकलन विपरित बजारमा नेगेटिभ सर्किट लाग्नुले अब लगानीकर्ताले अनुहार भन्दा पनि नितीगत परिवर्तन खोजेको स्पष्ट भएको छ।

करिब १ महिनाअघि बजारको चिरफारसंगको अन्तर्वाताका क्रममा नेपाल फाइनान्सका प्रमूख कार्यकारी अधिकृत उद्धव राज थपलियाले खरिद गरेको सेयर १ वर्षसम्म बेच्न नपाईने व्यवस्थाका कारण बैंक वित्तिय संस्थाहरु दोश्रो बजारबाट सेयर खरिद गर्न त्यति उत्साहित नभएको बताएका थिए। १ वर्ष पछि सेयर बजारको अवस्था कस्तो होला भन्ने आंकलन गर्नु असाध्यै कठिन हुने हुँदा बरु सेयर खरिद नै नगर्ने मनसाय अधिकांशले बनाउने गरेको पाइएको छ। बैंक वित्तिय संस्थामा तरलता प्रशस्त हुँदा सेयर कारोबारबाट पनि लाभ लिन सकिन्थ्यो  तर १ वर्षभन्दा कम अवधिको कारोबारमा राष्ट्र बैंकले रोक लगाएकाले त्यो सम्भव नभएको प्रतिकृया अधिकांश बैंक वित्तिय संस्थाका पदाधिकारीहरुले दिने गरेका छन्।

२०७८ जेठ ११ का दिन राष्ट्र बैंकले एउटा सर्कुलर जारी गर्यो। सो सर्कुलर मार्फत राष्ट्र बैंकले  बैंक तथा वित्तिय संस्थाहरुले सेयर बजारमा अल्पकालीन लगानी गर्न प्रतिबन्ध लगायो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तिय संस्थाहरुले संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा १ वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाईने व्यवस्था सो सर्कुलर मार्फत गरियो। त्यसअघि बैंक वित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा रोक थिएन। त्यस्तै सोहि सर्कुलर मार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तिय संस्थाहरुले लघुवित्त वित्तिय संस्थाहरुको सेयरमा लगानी गर्न नपाईने व्यवस्था पनि गरियो। राष्ट्र बैंकको सो सर्कुलर पछि बैंक वित्तिय संस्थाहरुले आफ्नो होल्डिङ्ग स्वाट्टै घटाए। किनेको सेयर १ वर्ष सम्म बेच्न नपाईने र १ वर्षपछि पनि कोर क्यापिटलको १ प्रतिशत मात्रै बेच्न पाईने भएपछि बैंक वित्तिय संस्थाहरु बजार घटेर १८०० कै इन्डेक्समा आउँदा पनि सेयर खरिद गर्न उत्साहित भएनन्। त्यतिबेला बैंक वित्तिय संस्थाहरुले यो विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकलाई सुझाव दिएका थिए। त्यसपछि राष्ट्र बैंक आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक समीक्षा मार्फत १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २०% सम्म बिक्रि गर्न पाउने व्यवस्था मिलाउने नीति लिएको थियो।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पूंजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न पाउँछन्। पछिल्लो तथ्याङ्क अनुसार बैंक वित्तिय संस्थाको प्राथमिक पूंजी ८ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ। त्यसको ३० प्रतिशत गणना गर्दा २५२ अर्ब हुन आउँछ। तर १ वर्षभन्दा कम अवधिको अल्पकालीन कारोबारमा रोक लगाईएका कारण बैंक वित्तीय संस्थाले केहि म्युचुअल फण्डमात्रै होल्ड गरेको देखिन्छ, सेयरमा लगानी कमै देखिन्छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल बैंक वित्तिय संस्थाहरुलाई सेयर कारोबार गर्न कुनै रोकटोक लगाउनु नहुने बताउँछन्। बैंक वित्तिय संस्थाहरुलाई अल्पकालीन कारोबार गर्न दिँदा बैंक वित्तिय संस्थाहरुमा थुप्रिएको अधिक तरलताको व्यवस्थापनमा पनि सहजता हुने र सेयर बजारमा माग सिर्जना हुने भएकाले राष्ट्र बैंकले तत्काल यो विषय सम्बोधन गर्नुपर्ने सेयर बजारका अनुभवी लगानीकर्ता विष्णु सुबेदी बताउँछन्।

त्यस्तै सेयर धितोकर्जामा लगाईएको व्यक्तिगत तर्फको २५ करोडको सीमा हटाउनुपर्ने माग पनि लगानीकर्ताहरुले राखेका छन्।

नेप्सेमा कारोबारको अन्तिम १५ मिनेटको औसत निकालेर सूचक गणना गर्ने नियम हटाउनुपर्ने माग लगानीकर्ताहरुले राखेका छन्। अब बजार खुल्दा कम्तिमा यी मागहरु सम्बोधन हुनुपर्ने नत्र बजारमा झन् ठूलो पहिरो जाने आशंका लगानीकर्ताहरुले व्यक्त गरेका छन् । यस्तो विषम परिस्थितिमा कुनै पनि नीतिगत सुधार नगरी बजार खुलाउँदाको परिणाम सोमबारको बजारमा देखिएको सेयर विश्लेषक सुबास चन्द्र ढुंगाना बताउँछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स