गत वर्ष आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजारमा ऐतिहासिक रेकर्ड कायम भएको छ भने अन्य परिसूचकहरूमा पनि उल्लेख्य सुधार आएको छ। तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०/८१ मा रु. ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्र कारोबार भएको थियो भने आर्थिक वर्ष २०८१/८२ मा यो रकम रु. २१ खर्ब २४ अर्ब ९१ करोड पुगेको छ, जुन १८९.२३ प्रतिशतले बढी हो। यसअघि सबैभन्दा बढी कारोबार रकम आर्थिक वर्ष २०७७/७८ मा रु. १४ खर्ब ५४ अर्ब ४४ करोड थियो।
यसैगरी, वर्ष २०८१ को असार मसान्तमा रु. ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण आर्थिक वर्ष २०८२ को असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई रु. ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। उक्त वर्ष मर्जर र एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्काशनमार्फत ४ कम्पनी थपिएका छन्। यस वर्ष प्रथम निष्काशनमार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्काशनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ हजार कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आर्थिक वर्ष २०८१/८२ मा देखिएको उत्साहजनक कारोबारका लागि नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंक, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मी लगायत पुँजी बजारका सरोकारवालाहरुलाई धन्यवाद प्रकट गरेको छ।


प्रतिकृया