अन्तर्राष्ट्रिय प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन रोब रिपोर्टले सन् २०२६ का लागि सार्वजनिक गरेको विश्वका उत्कृष्ट लक्जरी होटलहरूको सूचीमा नेपालको शिन्तामणि मुस्ताङ पहिलो स्थानमा परेको छ। विश्वभरका चर्चित होटल, रिसोर्ट र सफारी क्याम्पलाई पछि पार्दै मुस्ताङस्थित यो रिसोर्टले उत्कृष्ट आतिथ्य सेवाका आधारमा शीर्ष स्थान हासिल गरेको हो।
रोब रिपोर्टले शिन्तामणि मुस्ताङलाई ‘रैरेफाइड प्यान्थियन’ अर्थात् विश्वकै अद्वितीय विलासी गन्तव्यको सूचीमा समावेश गरेको जनाएको छ। कालीगण्डकी नदी नजिक रहेको यो रिसोर्ट प्रख्यात म्याक्सिमलिस्ट डिजाइनर बिल बेन्स्लीको परिकल्पनामा निर्माण गरिएको हो। परम्परागत बाग्लुङ ढुङ्गाको प्रयोग गरी बनाइएको रिसोर्टका २९ वटै कोठाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
यात्रा विशेषज्ञ क्रिस्टोफर विल्मोट–सिटवेलले यसलाई शरीर, मन र आत्मालाई शान्ति दिने उत्कृष्ट विश्रामस्थलका रूपमा वर्णन गरेका छन्। रिसोर्टमा आउने पाहुनाका लागि कम्तीमा पाँच रात बस्नुपर्ने व्यवस्था गरिएको छ, जसका लागि पुनर्ताजगी अनुभव गराउने विशेष प्याकेज तयार गरिएको उल्लेख छ।
एभरेष्ट क्षेत्रको तुलनामा कम भीडभाड र शान्त वातावरण रहेको मुस्ताङमा पर्यटकले घोडचढी, धनुषबाण, पदयात्रा, ८ सय वर्ष पुरानो लुब्रा गाउँको भ्रमण, बोन बौद्ध धर्मको संस्कृति तथा परम्परागत तिब्बती चिकित्सकको सेवाको अनुभव लिन सक्नेछन्।
रोब रिपोर्टले २४ जना ट्राभलर्सको सिफारिस र स्थलगत अनुभवका आधारमा सेवाको गुणस्तर, लोकेसन, व्यवस्थापन र मौलिकतालाई मूल्यांकन गर्दै शीर्ष १० होटलको सूची तयार पारेको जनाएको छ। सो मूल्यांकनमा शिन्तामणि मुस्ताङले सबैभन्दा बढी अंक प्राप्त गर्दै पहिलो स्थान ओगट्न सफल भएको हो।
रोब रिपोर्टका अनुसार सन् २०२६ का शीर्ष १० लक्जरी होटलमा शिन्तामणि मुस्ताङ (नेपाल), सिंगिता क्विटोन्डा (रुवान्डा), होप लज (स्कटल्याण्ड), पार्क हयात टोकियो (जापान), शक्ति प्राण (भारत), कलेजियो अला क्वेर्से (इटाली), क्लेरिजेज (बेलायत), ले ब्रिस्टल पेरिस (फ्रान्स), इस्लास सेकास (पानामा) र कासा बोनाभिटा (माल्टा) परेका छन्।
प्रतिकृया