नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालै कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै युवाहरूले कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको दुई–तीन लाख, चार लाख आम्दानी गर्ने टिप्पणी दिएका थिए।
यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनी ट्रोलको शिकार भए। प्रयोगकर्ताहरू दुई धारमा बाँडिए। एक पक्षले आईटी क्षेत्रमा नेपालको प्रचुर सम्भावनालाई औंल्याउँदै थापाको अभिव्यक्तिलाई यथार्थपरक भने। अर्को पक्षले थापाको यो भनाइलाई भाषणमा सीमित रहेको आरोप लगाए। “आफ्नै सरकार हुँदा पनि सूचना प्रविधि क्षेत्रमा कुनै ठोस काम नगरेको व्यक्ति अहिले यस्ता सपना बेच्दैछन्,” एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्।
यही प्रसंगमा नेपालका आईटी उद्यमी किरण तिम्सिनासँग कुरा गर्दा हामीले सोध्यौं, “के माननीय गगन थापाले भनेजस्तै नेपालमै बसेर आईटी काम गरेर महिनाको ४ लाख कमाउन सकिन्छ?” जवाफमा उनले भने, ‘नेपालमा पैसा कमाउने कुराको प्रचार गर्नुभन्दा पनि सूचना प्रविधिको राम्रो इकोसिस्टम निर्माण गर्नुपर्ने आवश्यकता देख्छु। मेहेनेत गरेर काम गरे सम्भावना सबै क्षेत्रमा छ। अहिले सूचना प्रविधिमा पनि राम्रो आम्दानी गरिरहेका छन्। नीति निर्माताले अहिले ख्याल गर्नुपर्ने कुरा के कमाएको पैसा नेपाल ल्याउने सहज वातावरण छ त?’
उनले थपे,‘विदेशी कम्पनीलाई सेवा दिएर डलर आम्दानी गरिरहेका युवाहरु अहिले नेपालमा पैसा ल्याउन निरुत्साहित छन्। विशेषगरी डलर ल्याउन र त्यसको आधारमा आवश्यक सेवाहरू खरिद गर्न सहज वातावरणको अभाव छ। अर्को हातमा कर चुक्ता लगायतका विषयमा दुःख पाइरहेका छन्। नेपालमा थुप्रै आईटी कलेजहरू सञ्चालनमा छन् र धेरै अभिभावक र विद्यार्थी आईटी क्षेत्रमा सामेल भइरहेका छन्। सम्भावना प्रचुर छन्, तर यो कतै सुनेजस्तै वा भनेजस्तै सहज छैन।’
किरणले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवाहरूलाई कमाएको पैसा नेपाल ल्याउन प्रोत्साहित गर्नुपर्ने र यसमा सहज वातावरण बनाउनुपर्नेमा जोड दिन्छन्।
गगन थापाले भनेजस्तै नेपालमै बसेर महिनामा लाखौँ कमाउन सकिन्छ? यो कति सम्भव छ?
गगन थापाज्यूले भन्नुभएको कुरा सम्भावना भएको विषय हो। तर, यसमा धेरै मेहनत र सही सीप चाहिन्छ। सूचना प्रविधि (आईटी) क्षेत्रमा केही व्यक्तिले नेपालमै बसेर महिनाको लाखौँ कमाइरहेका छन्। तर, यो सबैका लागि सजिलो भने छैन। आउटपुट र जिम्मेवार हुनुपर्छ, मेहेनेत गरेर काम गर्नेको आम्दानी राम्रो छ, कमाउने पनि थुप्रै हुनुहुन्छ।
नेपालमा आईटीको इकोसिस्टम विस्तार हुँदैछ। धेरैजसो युवाहरू फ्रिलान्सिङ प्लेटफर्महरूमा काम गरिरहेका छन्। तर सही संरचना तयार गरिएन भने, यो सपना भाषणमै सीमित रहन सक्छ।
नेपालमा फ्रीलान्सिङको वर्तमान अवस्था कस्तो छ?
फ्रीलान्सिङले नेपाली युवाहरूका लागि राम्रो करियरको विकल्प दिन थालेको छ। विशेष गरी प्रोग्रामिङ र साइबर सेक्युरिटी जस्ता क्षेत्र अझ बढी छ। अपवर्कजस्ता प्लेटफर्महरूले नेपाली फ्रील्यान्सरहरूलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोडिन र काम गर्न सहज वातावरण तयार भएको छ।
सँगै प्रतिस्पर्धापनि एकदमै उच्च भएको छ। भारत, बङ्गलादेश, र भियतनामजस्ता देशमा सस्तो दरमा काम गर्न जनशक्ती तयार हुँदा भुक्तानी दरमा गिरावट आएको छ। नेपाली फ्रीलान्सरहरूले विशेष सिप विकास गरेर मात्रै यो प्रतिस्पर्धामा टिक्न सक्छन्। एक दशक अघि पनि फ्रीलान्सिङमा आकर्षण थियो। त्यतिबेला प्रतिस्पर्धा कम थियो। अहिले बजार प्रतिस्पर्धाले भरिएको छ त्यसैले औसतमा भुक्तानी दर घटेको छ।
कोभिड महामारीको समयमा रिमोट कामको अवसर बढेको थियो, तर अहिले अवस्था सामान्यमा फर्किएको छ। त्यसैले, विशेष सीप र विषेशज्ञता नभएसम्म फ्रीलान्सिङबाट राम्रो आम्दानी गर्न अफ्ट्यारो नै छ।
नेपालमा फ्रिलान्सिङ कुन माध्यम बाट गर्दै आइरहेको छन् ?
नेपालमा फ्रिलान्सिङका लागि ‘अपवर्क’ सबैभन्दा लोकप्रिय माध्यमहरूमध्ये एक हो। यो प्लेटफर्ममा रजिस्टर गरेर आफ्नो प्रोफाइल बनाइन्छ र सीपअनुसारका काम खोजिन्छ। अपवर्कमा काम दिने व्यक्तिहरू (क्लायन्ट) आफ्नो आवश्यकता अनुसार काम पोस्ट गर्छन्। फ्रिलान्सरहरूले उक्त काममा बोली लगाएर (बिड गरेर) काम लिन्छन्।
काम दिनेले फ्रिलान्सरको प्रोफाइल, पोर्टफोलियो र अघिल्लो अनुभव हेरेर निर्णय गर्छन्। सुरुवातमा नयाँ फ्रिलान्सरहरूलाई काम पाउन अलि गाह्रो हुन सक्छ, काम दिनेले विश्वास गर्ने सम्भावना न्यून हुन्छ। तर, राम्रो र गुणस्तरीय काम गरेपछि रिभ्यु र पोर्टफोलियो बलियो बन्छ, जसले गर्दा थप कामका अवसरहरू बढ्न थाल्छन्।
अपवर्कमा प्रतिस्पर्धा कम भएकोले केही पहिला सुरु गर्नेहरूका लागि काम पाउन र आफ्नो पहिचान बनाउन सहज थियो। सुरुमा १,२ काम सुरु गरेका कतिपय फ्रिलान्सरहरूले लामो अवधिसम्म एउटै कम्पनीसँग काम गर्दै आएका छन्। कम्पनीले दीर्घकालीन कामका लागि विदेश बोलाउँछन् उतै सेटल हुने पनि गरेका छन्।
फ्रिलान्सि गर्नेहरूले के कस्तो समस्या भोगेका छन?
पहिलो समस्या भनेको सीप र तालिमको अभाव हो। अहिलेको शिक्षा प्रणालीमा सूचना प्रविधि विषयलाई प्राथमिकता दिइए पनि यस क्षेत्रका विद्यार्थीहरूले काम गर्ने व्यावसायिक तरिका सिक्न पाएका छैनन्। धेरैजसो शिक्षण संस्थाहरूले “आईटी क्षेत्रबाट सजिलै पैसा कमाउन सकिन्छ” भन्ने आशा देखाउँछन्। यसका कारण विद्यार्थीहरूले सूचना प्रविधिमा अध्ययन गरेपछि तुरुन्तै धेरै पैसा कमाउन सक्छु भन्ने सोच बनाउँछन्। विद्यार्थीहरुलाई आईटी पढेर धेरै पैसा कमाइन्छ भन्ने लाग्छ तर ब्याचलर पढीसक्दा उनीहरूलाई तरिका थाहा हुँदैन। अब यसले भविष्यमा चुनौती थप्न सक्छ। झुटो सपना बेचेको हो भन्छु म त सजिलै कमाउन सकिन्छ भन्ने। मेहेनेत गर्नुपर्छ, प्रतिस्पर्धा धेरै छ र काम सजिलो छदै छैन। काम सिक्न समय र लगनशीलता आवश्यक हुन्छ, तर सही मार्गदर्शन र मेन्टरशिपको अभावले गर्दा धेरैजसो विद्यार्थी र नयाँ फ्रिलान्सरहरू निराश हुन्छन्।
यस्तै, सरकारको गिग अर्थतन्त्र बारेको बुझाइ स्पष्ट नभएकोले गिग वर्करहरूले थप कठिनाइ भोग्नुपरेको छ। विदेशबाट काम गरेर डलर भित्र्याउने गिग वर्करहरूको आम्दानीलाई रेमिट्यान्सको मान्यता दिइँदैन। बैंकहरूले रेमिट्यान्स खातामा उपलब्ध गराउने सुविधा उनीहरूले पाउँदैनन्। विदेशबाट आएको रकमलाई कर चुक्ता गर्न र प्रमाणपत्र पाउन झन्झटिलो प्रक्रिया छ, जसले समय र ऊर्जा दुवै खेर जान्छ। बैंकका कर्मचारी र आन्तरिक राजश्व विभागका कर्मचारीलाई समेत यो प्रक्रियाबारे राम्रो ज्ञान नभएकाले समस्याहरू झन् बढ्ने गरेका छन्।
गीग अर्थतन्त्रमा काम गर्ने व्यक्तिहरूलाई भिसा प्रोसेस गर्दा वा नेपालमै काम गर्दा थुप्रै समस्याहरू सामना गर्नुपर्छ। विशेष गरी, भिसा प्रोसेस गर्दा कर चुक्ता प्रमाणपत्रको आवश्यकता पर्छ। मैले विदेशबाट मानौं वर्षको ५० लाख कमाए। बैंकले अग्रिम कर कट्टी गर्छं। मैले तिरेको त्यो करको कर चुक्ता प्रमाणपत्र लिन यति झन्झट छ कि, म १० दिन सम्म बैंक राजश्व कार्यालय धाउनु पर्छ।
बैंक र बैंकका कर्मचारीहरुलाई कर चुक्ता प्रमाणपत्रको प्रक्रिया कसरी सञ्चालन गर्ने भन्ने कुरा स्पष्ट छैन भने प्रश्न आईटी फोरमा उठ्ने गर्छन्। यस्तै, आन्तरिक राजश्व विभागको कर्मचारीहरूलाई समेत यो प्रक्रियाबारे स्पष्ट जानकारी छैन्। सरकारले आफ्नै निकायलाई गिग अर्थतन्त्रको करको विषयमा यो प्रक्रिया यस्तो हो भन्ने मोविलाइज गर्न सकेको छैन।
सूचना प्रविधि क्षेत्रका थुप्रै नेपाली युवाहरूले विश्वका ठूला कम्पनीहरूको लागि नेपालमै बसेर काम गरिरहेका छन्। यी युवाहरूलाई विभिन्न ह्याकाथनमा सहभागी हुन वा विशेष परियोजनाहरूका लागि विदेशी कम्पनीहरूले सबै व्यवस्था गरेर निम्तो दिन्छन्। तर उनीहरूले भिसा प्रक्रियामा यति झन्झट व्यहोर्छन। यो त सरकारलाई नेपाली सूचना प्रविधिको जनशक्तिको मार्केटिङ्ग गर्ने अवसर हो। ह्याकाथन वा विशेष परियोजनामा सहभागी हुन जाने यी युवाहरू नेपाली पहिचान लिएर विश्वसामु उभिन्छन्।आज, नेपालीहरू विश्वका ठूला कम्पनीहरूले प्रकाशित गर्ने हल अफ फेममा शीर्ष १० मा पर्न सफल छन्। गुगल, फेसबुक, माइक्रोसफ्टजस्ता कम्पनीहरूले नेपाली आईटी जनशक्तिको क्षमता बुझिसकेका छन्। तर दुखको कुरा, हाम्रो आफ्नै सरकारले यो क्षमता र योगदानलाई सही मूल्याङ्कन गर्न सकेको छैन।
सरकारले त यो जनशक्तिलाई सहजीकरण गर्नुपर्ने हो। भिसाको लागि आवेदन दिएको छ भने त्यहाँ सहजीकरण गर्नुपर्यो, सरकारले आफ्नो पहलमा पठाउन सक्नुपर्यो। अनि बल्ल नेपाल गुणस्तरीय जनशक्तिको देशको रुपमा विकास हुन सक्छ। तर यदि सरकारले सस्तो जनशक्ति खोज्दै आउने विदेशी कम्पनीहरूसँग मात्र सन्तुष्ट हुने नीति अपनायो भने, यसले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव दिन सक्दैन।
नेपालमा सूचना प्रविधि क्षेत्रमा काम गर्ने धेरै युवाहरूले विदेशबाट कमाएको पैसा नेपालमा ल्याउन निकै समस्या भोगिरहेका छन्। सबैभन्दा पहिलो समस्या भनेको डलर खाता खोल्ने कठिनाइ हो। बैंकहरूले डलर खाता खोल्नका लागि अनावश्यक कागजात माग्छन्, जस्तै कम्पनीको छापसहितको लिखित सम्झौता। तर अन्तर्राष्ट्रिय कम्पनीहरूसँग गरिने सम्झौताहरू प्रायः डिजिटल हुने भएकाले बैंकले ती सम्झौताहरू स्वीकार गर्न मान्दैन। अझ बैंकका कर्मचारीहरूलाई पनि यो प्रक्रियाबारे राम्रो ज्ञान नभएकोले समस्या झन् गम्भीर बन्छ।
विदेशमा कमाएको पैसा नेपालमा ल्याउँदा बैंकहरूले लिने शुल्क अर्को ठूलो समस्या हो। उदाहरणका लागि, यदि कसैले विदेशबाट १०० डलर पठायो भने, हातमा ७० डलर मात्र आउँछ, बाँकी विभिन्न शुल्कहरूमा काटिन्छ। सबैले एकैपटक ठूलो पैसा लिन्छन भन्ने पनि छैन। ठूलो रकम पठाउँदा राष्ट्र बैंकले निगरानी गर्छ, र कहिलेकाहीँ त्यो पैसा रोकिदिन्छ।
सरकारले पेमेन्ट रिसिभ गर्ने सहज वातावरण तयार गर्नुपर्छ। उनीहरुले कमाएको डलर खर्च गर्न चाहे सहज एक्सेस दिनुपर्छ। नेपालमा काम गर्ने युवालाई आफूलाई खर्च गर्न कमाउछन , कमाएको पैसा अरु कसैलाई दिनु पर्दैन। पैसा ल्याउन खोज्दा त्यति ठूलो चार्ज लाग्छ। यी सबै समस्याले गर्दा धेरै युवाहरूले पैसा नेपालमा ल्याउन छोडेका छन्। उनीहरूले पैसा Payoneer जस्ता वैकल्पिक माध्यममा राख्छन्, या विदेशी खातामै बचत गर्छन्।
यसरी कमाएको पैसा नेपालमा ल्याउन सरकारले सहज व्यवस्था गर्नुपर्छ। डलर खाता खोल्न सजिलो बनाउनु पर्छ र पैसा ल्याउँदा लाग्ने शुल्कहरू कम गर्नुपर्छ। विदेशमा काम गरेर नेपालमा पैसा ल्याउन सजिलो भए मात्र हाम्रो अर्थतन्त्रलाई ठूलो फाइदा हुनेछ ।
यसमा सहजीकरण गर्नुपर्छ भन्ने छैन तर सधैं चुनावी एजेण्डा भने बन्छ।
नेपाललाई आइटी प्रतिभाको केन्द्र बनाउन के गर्नुपर्छ?
नेपाललाई सूचना प्रविधि (आईटी) क्षेत्रमा प्रमुख केन्द्र बनाउने प्रयासका लागि बहुआयामिक दृष्टिकोण अपनाउन आवश्यक छ।
सबैभन्दा पहिला, आईटी क्षेत्रका लागि जनशक्तिलाई सहजीकरण गर्ने नीति बनाउनु आवश्यक छ। विदेशबाट प्रोजेक्ट लिएर काम गर्ने, डलर भित्र्याउने, र गिग इकोनोमीमा संलग्न युवाहरूलाई श्रम विभागमा दर्ता गराउने प्रक्रिया सहज बनाउनु पर्छ। वर्तमानमा झन्झटिलो प्रक्रिया र अनावश्यक कागजातहरूको मागले उनीहरूलाई विदेशमा कमाएको पैसा नेपालमा ल्याउँदा लाग्ने शुल्क अहिले अत्यन्त महँगो छ। धेरै युवाहरूले यही कारणले गर्दा आफ्नो पैसा नेपालमा नल्याई वैकल्पिक माध्यमबाट बाहिरकै खातामा राखिरहेका छन्। सरकारले यो शुल्क कम गर्न भूमिका खेल्नुपर्छ ताकि युवाहरूले सहज रूपमा नेपालमा पैसा भित्र्याउन सकून्।
नेपालको आईटी क्षेत्रलाई राम्रोसँग व्यवस्थापन गर्नका लागि, सरकारले वास्तविक समस्या र आवश्यकताहरूलाई बुझ्नुपर्छ। अहिलेको जस्तो “सूचना प्रविधिमा लाखौं कमाउन सकिन्छ” भन्ने सपनाको व्यापार गर्ने प्रवृत्ति रोक्नुपर्छ। यसको सट्टा, युवाहरूलाई सही जानकारी, सीप, र मार्गदर्शन प्रदान गरिनुपर्छ। उनीहरूलाई सूचना प्रविधिको जटिलता, चुनौती र काम गर्ने प्रक्रियाबारे राम्ररी बुझाइ दिन जरुरी छ।
यसका साथै, आईटी क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारमा पनि जोड दिनु पर्छ। राम्रो इन्टरनेट सुविधा, आधुनिक प्रविधिको पहुँच र आईटी पार्कहरूको विकासले यस क्षेत्रमा ठूलो योगदान दिन सक्छ।
नेपालले सूचना प्रविधि क्षेत्रको लागि सही इकोसिस्टम विकास गर्न सके मात्र यो क्षेत्रले दीर्घकालीन प्रगति गर्न सक्छ। यसका लागि सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूले मिलेर काम गर्नुपर्छ। नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउने सपना केवल नीतिमा मात्रै सीमित रहनु हुँदैन, सही कदम चाले मात्र यो सम्भव छ।





![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)


![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-768x432.jpg)



![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया