एफपीओ निष्काशनको प्रस्ताव सहित मातृभूमि लघुवित्तले बोलायो साधारणसभा
मातृभूमि लघुवित्तले २०८२ वैशाख २ गते मंगलबारका लागि साधारणसभा आह्वान गरेको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले २०८१ चैत २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार चैत २१ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्। यस पटक कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ। साथै, साविक जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण पनि सभामा छलफलका लागि प्रस्तुत गरिनेछ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि राखिएको छ।
त्यसैगरी, संस्थापक सेयरधनी समूहबाट चार जना तथा सर्वसाधारण सेयरधनी समूहबाट दुई जना सञ्चालकहरूको निर्वाचन गरिनेछ। विशेष प्रस्तावतर्फ, कम्पनीले एफपीओ निष्काशन गर्ने प्रस्ताव ल्याएको छ। साथै, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थाहरूसँग गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।