लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको २३औं वार्षिक साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको छ।
सभाले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यसका साथै, बोनस सेयर वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि छलफल गरी अनुमोदन गरिएको छ।
सभा अध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष सिद्धान्त मोहन्तीले सक्रिय सहभागितामार्फत सभा सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सेयरधनीलाई धन्यवाद व्यक्त गरे। उनले सेयरधनीहरूको विश्वास र समर्थनले कम्पनीलाई अघि बढ्ने ऊर्जा दिएको उल्लेख गरे।
त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले वार्षिक प्रतिवेदनमा उठाइएका सवालहरूको जवाफ दिँदै कम्पनीका प्रमुख वित्तीय सूचकहरू बलिया रहेको बताए। साथै, उनले वर्तमान आर्थिक अवस्था सन्तोषजनक रहेको र आगामी दिनमा अझ प्रभावकारी रणनीति अवलम्बन गरी वित्तीय प्रदर्शनलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १६ गते बुक क्लोज गरेको थियो। यस अनुसार, असार १५ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन पाएका थिए।





















प्रतिकृया