जानकी फानान्सको खराब कर्जा ४० प्रतिशत माथि, संस्था घाटामा
जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार फाइनान्सको खराब कर्जा ४०.८८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १९.९९ प्रतिशत थियो।
खराब कर्जा बढेको कारण कम्पनीको वित्तीय प्रदर्शनमा नकारात्मक प्रभाव परेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सले २४ करोड ८२ लाख रुपैयाँ खुद नोक्सानमा रहेको छ। अघिल्लो वर्ष फाइनान्सले १९ लाख रुपैयाँ नाफा कमाएको थियो।
खराब कर्जामा वृद्धि भएपछि इम्पेरमेन्ट चार्ज २२ करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यो ८ करोड १६ लाख रुपैयाँ रहेको थियो।
फाइनान्सको आम्दानी समेत घटेको छ। खुद ब्याज आम्दानी ८८.२० प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.२० प्रतिशतले कम भएको छ। कुल सञ्चालन आम्दानी पनि ८३.३४ प्रतिशतले घटेको छ। फाइनान्सको सञ्चालन मुनाफा र खुद नाफा दुबै ऋणात्मक रहेको छ।
कम्पनीको जगेडा कोष ५३ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ। जानकी फाइनान्सले पुस मसान्तसम्म ४ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
पुस मसान्तसम्ममा फाइनान्सको प्रति सेयर आम्दानी (इपिएस) ७१ रुपैयाँ ९१ पैसा ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ २१ रुपैयाँ ९४ पैसा रहेको छ।