व्यवसायीक संस्था हो, यसमा राजनीति नगरौँ: सभामुख अर्याल

व्यवसायीक संस्था हो, यसमा राजनीति नगरौँ: सभामुख अर्याल
Advertisement Ads

सभामुख डीपी अर्यालले पर्यटन तथा व्यवसायीक संस्थालाई राजनीतिक गतिविधि र व्यक्तिगत स्वार्थबाट टाढा राख्दै व्यवसाय प्रवद्र्धन र क्षेत्रको विकासमा केन्द्रित हुन आग्रह गरेका छन्।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहमा बोल्दै सभामुख अर्यालले नाट्टा व्यवसायीक संस्था भएकाले यसभित्र राजनीतिक विवाद र स्वार्थ प्रवेश गराउन नहुने बताएका हुन्।

“यो व्यवसायीक संस्था हो, यसमा राजनीति नगरौ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवद्र्धन र व्यवसायीक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,” उनले भने।

पर्यटन क्षेत्रको विकासका लागि पर्यटकले सबैभन्दा पहिले सुरक्षित महसुस गर्नुपर्ने उल्लेख गर्दै सभामुख अर्यालले हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताए। त्यसपछि मानिसको व्यवहार, सेवा र सुविधाले पर्यटक आकर्षित गर्ने उनको भनाइ थियो।

उनले व्यवसायी, सरकार र सम्बन्धित सबै पक्षबीच सहकार्यबाट पर्यटन क्षेत्रमा आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए। आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

सभामुख अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। हाल सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमाथि पर्याप्त बहस र छलफल आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी ५० वर्षलाई ध्यानमा राखेर दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्ने बताए। पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत उनले जोड दिए।

नेपाल एयरलाइन्सको संरचनागत सुधार आवश्यक

सभामुख अर्यालले नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको बताए।

“नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,” उनले भने।

विश्वका विभिन्न एयरलाइन्स कम्पनी नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए।

नेपालको पर्यटन क्षेत्रलाई थप विस्तार गर्न नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन आवश्यक रहेको भन्दै उनले यसका लागि पर्यटन व्यवसायीको सक्रिय भूमिका आवश्यक रहेको बताए।

नेपाली र विदेशी पर्यटकबीच सेवाका क्रममा विभेद गर्न नहुनेमा पनि उनले जोड दिए।

“होटलमा नेपाली पर्यटक आएर बसिदिऊन्, धेरै खर्च गरून् भन्ने चाहना राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उनले भने।

हवाई टिकटदेखि होटल तथा अन्य पर्यटन सेवासम्म नेपाली र विदेशी पर्यटकलाई समान व्यवहार गरिनुपर्ने उनको भनाइ थियो।

नाथम र विमानस्थलको प्रभावकारी उपयोगमा जोड

सभामुख अर्यालले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई थप बलियो, व्यवस्थित र सुविधासम्पन्न बनाउनुपर्ने बताए। नाथमसम्बन्धी नयाँ कानुन निर्माणको बहस चलिरहेका बेला पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने गरी संस्थालाई सुदृढ गर्नुपर्ने उनको सुझाव छ।

भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालन तथा उपयोगबारे पनि गम्भीर बहस आवश्यक रहेको उनले बताए।

पछिल्लो निर्वाचनमा जनताले ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै सभामुख अर्यालले अब सरकार असफल हुने छुट नरहेको बताए।

“मुलुक समृद्ध हुनैपर्छ । सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स