पोखराको पामे क्षेत्रमा २४ डिसेम्बर २०२४ देखि सुरु हुन लागेको बिवाइडी इन्टरनेशनल बेलुन महोत्सवले नेपालको साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
बेलुन नेपाल प्रा. लिले आयोजना गर्ने यो ९ दिने महोत्सवमा २ दर्जनभन्दा बढी बेलुनहरूले पोखराको आकाशमा उडान भर्नेछन्। पर्यटकहरूले ४० मिनेटको उडानमार्फत अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरी हिमश्रृङ्खलाको साथमा पोखरा उपत्यकाको मनमोहक दृश्य, सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सक्नेछन्। यो महोत्सवले नेपालको पर्यटनलाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा प्रवर्द्धन गर्दै कोरोना महामारीपछिको पर्यटन पुनरुत्थानमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
महोत्सवमा थुप्रै देशहरूको सहभागिता हुनेछ, जसमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड र भियतनामका प्रतिनिधित्व प्रमुख छन्। सांस्कृतिक कार्यक्रमअन्तर्गत दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान लगायतका कलाकारहरूको दैनिक प्रस्तुति हुने छ भने बेलुन दौड, क्याम्पिङ, र आतिशबाजी प्रदर्शनले कार्यक्रमलाई थप रोमाञ्चक बनाउनेछ। नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका, पोखरा पर्यटन बोर्ड, र पोखरा पर्यटन काउन्सिलको सहकार्यमा महोत्सवको व्यवस्थापन क्यारिज्म्याटिक डिजिटल सोलुसनले गरेको हो। अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की महोत्सवका ब्राण्ड एम्बेसडर हुन्।
यो महोत्सवले विश्वका प्रतिष्ठित बेलुन महोत्सवहरूको सूचीमा स्थान बनाउन पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने योजना राखेको छ। बेलुन नेपाल प्रा. लि. २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान गर्दै आइरहेको छ र यसपटक थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा सहभागी हुँदै आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति पनि विस्तार गरिसकेको छ। यस महोत्सवले पोखराको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई विश्वमाझ पुर्याउँदै नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।


















प्रतिकृया