भारतको केन्द्रीय बैंकले पाँच वर्षपछि ब्याजदर घटायो, आर्थिक वृद्धिमा सुधारको संकेत
भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले पाँच वर्षपछि पहिलो पटक ब्याजदर घटाउने निर्णय गरेको छ। सरकारको नयाँ बजेटको एक साता पछि आरबीआईले आफ्नो रिपो दर ६.५ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशतमा ल्याएको हो। रिपो दर भनेको केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई ऋण दिने स्तर हो।
भारतले आर्थिक वृद्धिमा आएको सुस्ततालाई सम्बोधन गर्दै अर्थतन्त्रलाई बलियो बनाउन ब्याजदर कटौती गरेको छ। एसियामा चीन र जापानपछि तेस्रो ठूलो अर्थतन्त्र भएको भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को वृद्धिदर चार वर्षमा सबैभन्दा कम ६.७ प्रतिशतमा पुगेको छ।
आरबीआईको मौद्रिक नीति समितिले गभर्नर सञ्जय मल्होत्राको नेतृत्वमा ०.२५ प्रतिशतले रिपो दर घटाएर ६.२५ प्रतिशतमा झार्ने निर्णय गरेको छ। समितिले सर्वसम्मत रूपमा यो निर्णय गर्दै आर्थिक वृद्धिको गति सुस्त रहेको र यसको कारण कमजोर उत्पादन क्षेत्र र सुस्त लगानीलाई ठहर गरेको छ। आगामी आर्थिक वर्षमा भारतको वृद्धिदर ६.३ प्रतिशतदेखि ६.८ प्रतिशतको दायरामा रहने अनुमान गरिएको छ।
आरबीआईले मुद्रास्फीति घट्दै गएको संकेत दिँदै ब्याजदर कटौती गरेको हो। डिसेम्बर महिनामा खुद्रा मुद्रास्फीति ५.२२ प्रतिशतमा झरेको थियो, जसले ब्याजदर घटाउनलाई आधार तयार पारेको हो। ब्याजदर कटौतीको घोषणापछि वित्तीय बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ। बन्ड प्रतिफलमा वृद्धि भएको छ भने भारतीय रुपैयाँ र सेयर बजार परिसूचकहरुमा हल्का सुधार देखिएको छ।