भारतले आफ्नो देशभित्रको इन्धन माग पूरा भएपछि मात्रै छिमेकी देशहरूलाई इन्धन निर्यात गर्ने स्पष्ट संकेत दिएको छ। पश्चिम एसियामा भइरहेको युद्धका कारण विश्व ऊर्जा आपूर्ति प्रभावित भइरहेका बेला भारतले यस्तो सावधानी अपनाएको भारतीय आर्थिक पत्रिका द इकोनोमिक टाइम्सले जनाएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले छिमेकी देशहरूबाट इन्धन आपूर्तिका लागि अनुरोध आएको पुष्टि गर्दै भने, “हामीले अनुरोधहरू प्राप्त गरेका छौँ, र हामी हाम्रो आफ्नै आवश्यकता र उपलब्धतालाई ध्यानमा राख्दै ती अनुरोधहरूको मूल्याङ्कन गरिरहेका छौँ।”
त्यस्तै, भारतको पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले पनि आन्तरिक मागलाई प्राथमिकता दिने स्पष्ट पारिन्। उनले भनिन्, “पहिले घरेलु माग पूरा हुनुपर्छ, र यदि अधिशेष रह्यो भने मात्रै सम्बन्धित निकायले निर्यातबारे निर्णय लिनेछ।”
यता, नेपाल आयल निगमले भने भारतसँग निरन्तर संवाद भइरहेको र हालका लागि आपूर्ति सहज रहने बताउँदै आएको छ।
भारत विश्वको चौथो ठूलो तेल प्रशोधनकर्ता देश हो र उसले नेपाल, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सलाई इन्धन आपूर्ति गर्दै आएको छ।
पश्चिम एसियामा अमेरिका–इजरायल र इरानबीचको तनावका कारण हर्मुज जलडमरूमध्य क्षेत्रमा जहाज आवतजावत प्रभावित भएको छ, जसले कच्चा तेल र ग्यास आपूर्तिमा अवरोध सिर्जना गरेको छ। भारतको जलयातायात मन्त्रालयका विशेष सचिव राजेश कुमार सिन्हाका अनुसार भारतका कच्चा तेल, एलपीजी र एलएनजी बोकेका धेरै जहाजहरू उक्त क्षेत्रमा अड्किएका छन्, जसले आपूर्ति प्रणालीमा दबाब बढाएको छ।
भारतले आफ्नो कच्चा तेलको ४० प्रतिशतभन्दा बढी र एलपीजीको करिब ९० प्रतिशत आपूर्ति मध्यपूर्वबाट ल्याउने भएकाले त्यहाँको अवरोधले भारतभित्रै इन्धन संकटको अवस्था देखिएको छ। विशेषगरी खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको बताइएको छ।
यो अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले तेल प्रशोधन कम्पनीहरूलाई एलपीजी उत्पादन बढाउन निर्देशन दिएको छ र उद्योगतर्फ जाने ग्यास आपूर्ति घटाएर घरायसी प्रयोगलाई प्राथमिकता दिएको छ। साथै, सर्वसाधारणलाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र सम्भव भएसम्म पाइपमार्फत आउने प्राकृतिक ग्यास प्रयोग गर्न आग्रह गरिएको छ।
भारतले आपूर्ति व्यवस्थापनका लागि रुसबाट कच्चा तेल खरिद गर्ने प्रयास पनि गरिरहेको छ।














![स्थायी सरकारप्रति किन ढुक्क छैन बजार ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/zpiLUsWNYJk-HD.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया