भारतमा एलपीजी संकटको असर: खाना डेलिभरी गर्ने कामदारलाई १० हजार रुपैयाँ राहत दिन माग

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
भारतमा एलपीजी संकटको असर: खाना डेलिभरी गर्ने कामदारलाई १० हजार रुपैयाँ राहत दिन माग

पश्चिम एसियामा जारी द्वन्द्वका कारण एलपीजी (खाना पकाउने ग्यास) आपूर्तिमा अवरोध आउन थालेपछि त्यसको असर भारतको फुड व्यवसाय र अनलाइन डेलिभरी क्षेत्रमा देखिन थालेको छ। ग्यासको अभावका कारण केही रेस्टुरेन्ट, ढाबा, क्लाउड किचेन तथा सडकछेउका खाने व्यवसाय प्रभावित भएका छन्।

यसका कारण अनलाइन प्लेटफर्ममार्फत हुने खाना डेलिभरी अर्डरमा उल्लेख्य गिरावट आएको बताइएको छ। केही अनुमानअनुसार अर्डर ५०–६० प्रतिशतसम्म घटेको छ।

यस्तो अवस्थामा एपमार्फत काम गर्ने ‘गिग कामदार’: (जस्तै खाना डेलिभरी गर्ने कामदार) सबैभन्दा बढी प्रभावित भएको श्रमिक संगठनहरूले बताएका छन्। यी कामदारहरू स्थायी तलब वा सामाजिक सुरक्षाविना काम गर्ने भएकाले अर्डर घट्दा उनीहरूको आम्दानीमा सीधा असर परेको छ।

गिग तथा प्लेटफर्म सेवा कामदारहरूको संगठनले भारत सरकारसँग हस्तक्षेप गर्न आग्रह गर्दै प्रभावित प्रत्येक कामदारलाई १० हजार रुपैयाँ राहत दिन माग गरेको छ। साथै, खाद्य व्यवसायका लागि एलपीजीको नियमित आपूर्ति सुनिश्चित गर्न र केही समयसम्म कामदारको आईडी निलम्बन नगर्न (फुड डेलिभरी कम्पनीहरूले कहिलेकाहीँ कम अर्डर, कम रेटिङ वा अन्य कारणले कामदारको आईडी बन्द गरिदिन्छन्। अहिलेको संकटमा तीन महिनासम्म कसैको आईडी बन्द नगर्न) पनि माग गरिएको छ।

साथै, अर्डर कम भए पनि डेलिभरी कामदारले दिनको कम्तीमा निश्चित रकम पाउने व्यवस्था गर्न र सबै गिग कामदारलाई सामाजिक सुरक्षा ऐन, २०२० अन्तर्गत समेट्न माग छ।

एलपीजी उपलब्धताबारे बढ्दो चिन्ताबीच भारत सरकारले रिफाइनरीहरूलाई उत्पादन बढाउन निर्देशन दिएको छ। साथै, ग्यासको वितरणमा घरायसी उपभोगलाई प्राथमिकता दिने निर्णय पनि गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स