प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘झोले’ भन्नमा कुनै आपत्ति नभएको स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा सम्पन्न नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले परिवर्तन, राष्ट्रको गौरव र जनताको चाहना बोकेको झोला बोक्न पाउनुमा गर्व महसुस हुने बताएका हुन्। उनले ‘झोले’ शब्दलाई व्यंग्य वा तुच्छ अर्थमा बुझ्न नहुने भन्दै राष्ट्रका पक्षमा सोच्ने, काम गर्ने र सही विचार बोकेर हिँड्नेलाई झोले भन्नु अपमान होइन, सम्मान हुनुपर्ने उल्लेख गरे।
प्रधानमन्त्री ओलीले आलोचना र सामाजिक सञ्जालमा फैलाइने भ्रममा नपर्न आग्रह गरे। उनका अनुसार, राम्रा कुरा बोकेको झोलालाई ‘झोले’ भनिनुमा कुनै समस्या छैन, तर दलाली र स्वार्थ बोकेको झोला भने स्वीकार्य हुन सक्दैन। उनले कटाक्ष गर्दै भने, “म सामन्तको दुई कौडी लिएर झोला बोकेको मान्छे होइन। म जनताको झोला बोक्छु, परिवर्तनको झण्डा उठाउने झोले हुँ, त्यसमा मलाई गर्व छ।”
उनले बुद्धिजीवी वर्गलाई राष्ट्रहितमा सक्रिय भूमिका खेल्न आग्रह गरे। “तपाईंहरू बुद्धि बेचेर खाने होइन, बौद्धिक मार्गदर्शन दिने वर्ग हो,” भन्दै उनले आलोचना गर्नुभन्दा सुधारको सुझाव दिन आग्रह गरे। उनले सामाजिक सञ्जालमा नियोजित रूपमा आउने ‘बुस्टेड’ कमेन्टहरूलाई मेसिनको कामसँग तुलना गर्दै त्यसको पछि नलाग्न चेतावनी समेत दिए।
ओलीले पार्टीलाई सिध्याइदिन्छु भन्नेहरूले एमालेलाई पराजित गर्न नसक्ने दाबी गर्दै, एमाले अझ सुदृढ बनेर ‘मिसन २०८४’तर्फ अघि बढिरहेको बताए। पार्टी विभाजनपछि पनि एमाले जनताको लोकप्रियतामा कायम रहेको उल्लेख गर्दै उनले राष्ट्रहित र समृद्धिको पक्षमा अघि बढ्ने हो भने एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरे। “व्यक्तिगत महत्वाकांक्षा होइन, राष्ट्रिय हितको एजेन्डा बोकेर हिँड्नुपर्छ,” उनले भने।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)
प्रतिकृया