काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ‘AT Alert’ लगायतका फिसिङ लिंक प्रयोग गरी ईसेवा खाताबाट ठूलो रकम ठगी गर्ने युवकलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थायी निवासी भई हाल काठमाडौं अनामनगरमा बसोबास गर्दै आएका २२ वर्षीय राहुल बुढा हुन्।
बुढाले विभिन्न व्यक्तिहरूलाई SMS मार्फत ‘Your account is about to be suspended’ भन्ने झूठो सूचना पठाई, त्यसको पुष्टि गर्न भन्दै फिसिङ लिंक खोल्न लगाउँथे। उक्त लिंकमार्फत पीडितहरूको ईसेवा खातामा अनधिकृत पहुँच बनाई उनीहरूको मौज्दात रकम ‘Pashupati Global Innovation Pvt. Ltd.’ नामक कम्पनीका मर्चेन्ट खाताहरूमा ट्रान्सफर गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।
यसरी उनले ४,००० भन्दा बढी प्रयोगकर्ताको खाताबाट झण्डै रु. १ करोड २ लाख बराबरको रकम निकालेर ठगी गरेका थिए।प्रहरीले उनलाई २०८२ साल वैशाख २ गते काठमाडौंको कालिमाटी क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको जनाएको छ।


प्रतिकृया