‘बालेन सरकार’लाई निजी क्षेत्रले कसरी हेरेको छ ? [भिडियो]

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २४ गते
AdvertisementAds

उद्योगपति तथा सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले प्रतिनिधिसभा निर्वाचनपछि देखिएको राजनीतिक परिणामलाई उद्योगी व्यवसायी र लगानीकर्ताका लागि सकारात्मक संकेत भएको बताएका छन्।

बजारको चिरफारसँगको कुराकानीमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको जनलहरले मुलुकमा स्थिर सरकार बन्ने सम्भावना बढाएको र यसले आर्थिक क्षेत्रलाई सकारात्मक सन्देश दिएको बताए।

उनका अनुसार लामो समयदेखि “यो संविधानबाट स्पष्ट बहुमत आउँदैन” भन्ने भाष्य प्रचलित रहे पनि अहिलेको परिणामले त्यो धारणा गलत साबित गरेको छ। “यदि दुई तिहाइ नजिकको बहुमत आउँछ भने अब ऐन–कानुन सुधार, लगानीमैत्री वातावरण निर्माण र आर्थिक सुधारका कामहरू गर्न सहज हुन्छ,” उनले भने।

पौडेलले उद्योगी व्यवसायीहरू राजनीतिक आस्थाभन्दा पनि स्थिरता, स्पष्ट नीति र लगानीमैत्री वातावरण चाहने बताउँदै यस्तो परिणामले निजी क्षेत्रलाई आशावादी बनाएको उल्लेख गरे।

उनले सम्भावित अर्थमन्त्रीका रूपमा चर्चामा रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले अर्थतन्त्र र प्रशासनिक संरचनाबारे राम्रो ज्ञान भएका व्यक्ति भएकाले निजी क्षेत्रका लागि सकारात्मक अभिभावक बन्न सक्ने विश्वास व्यक्त गरे। “उहाँ अर्थशास्त्रका विद्वान हुनुहुन्छ, नीति निर्माण र प्रशासनिक क्षेत्रमा अनुभव पनि छ। त्यसैले अर्थमन्त्री भए निजी क्षेत्रले सकारात्मक परिणाम अपेक्षा गर्न सक्छ,” पौडेलले भने।

उनले नेपालको पुँजी बजार अहिले धेरै कम्पनीको मूल्यांकनका हिसाबले न्यून बिन्दु नजिक रहेको उल्लेख गर्दै आगामी दिनमा बजार सुधार हुने सम्भावना रहेको बताए। “राजनीतिक स्थिरता र स्पष्ट आर्थिक नीतिले पुँजी बजारलाई नयाँ उचाइतर्फ लैजान सक्छ,” उनले भने।

उनका अनुसार पुँजी बजार प्रायः अर्थतन्त्रको आगामी दिशाको पहिलो संकेत दिने क्षेत्र भएकाले नयाँ सरकारको गठनसँगै यसको प्रभाव बजारमा देखिन सक्नेछ।

अर्कोतर्फ मध्यपूर्व क्षेत्रमा इरान, अमेरिका र इजरायलबीच बढ्दो तनावको असर नेपालमा पनि पर्न सक्ने उनले बताए। युद्ध लामो समयसम्म चल्यो भने पेट्रोलियम पदार्थको मूल्य वृद्धि, निर्माण लागत बढ्ने र रेमिटेन्समा समेत असर पर्ने सम्भावना रहेको उनले बताए।

तर दीर्घकालीन रूपमा भने नेपालले आफ्नै देशभित्र रोजगारी र उत्पादन बढाउन सके विदेशमा रहेका नेपाली श्रमिकहरू स्वदेश फर्केर विकास निर्माणमा योगदान दिन सक्ने उनको धारणा छ।

लगानीकर्तालाई सन्देश दिँदै उनले हतारमा निर्णय नगरी राम्रो अध्ययन गरेर राम्रा कम्पनीमा लगानी गर्न सुझाव दिएका छन्। “स्थिर सरकार र स्पष्ट आर्थिक नीति आएपछि आगामी दिनहरू लगानीकर्ताका लागि सकारात्मक हुन सक्छन्,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स