भोलि र पर्सि भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

भोलि र पर्सि भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले आइतबार सूचना जारी गर्दै अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो । यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला/नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ । दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको हो । प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ । वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद्मा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा ‘सेभ’ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

सिफारिस

होमपेज बिज शर्ट्स