राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विवादित विषयमा सरकार र सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा राप्रपाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीको विषयमा सञ्चार माध्यममा आएका समाचारप्रति गम्भीर ध्यान दिनुपर्ने बताए।
लिङदेनका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका दीपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भइरहेको छ। साथै, जेनजी आन्दोलनपछि खरिद गरिएको ५० लाख रुपैयाँ बराबरको सेयर सम्पत्ति विवरणमा उल्लेख नभएको आरोप पनि लागेको उनले उल्लेख गरे।
यस विषयमा सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वले तत्काल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनले माग गरे। सुशासनको कुरा गर्ने गृहमन्त्रीकै बारेमा यस्ता प्रश्न उठ्नु गम्भीर विषय भएको भन्दै उनले गृहमन्त्रीले आफ्नो स्थिति स्पष्ट गर्नुपर्ने र पार्टी नेतृत्वले पनि जिम्मेवारी लिनुपर्ने धारणा राखे।
लिङदेनले सरकारको कार्यशैलीप्रति आलोचना गर्दै स्टन्टको भरमा देश चल्न नसक्ने टिप्पणी पनि गरे। अनधिकृत रूपमा बनेका सडकछेउका घरटहरा भत्काउने नाममा राज्य आतंक फैलाइएको आरोप लगाउँदै उनले सरकारको कामप्रति असन्तुष्टि जनाए। उनले लाइसेन्स नवीकरण जस्ता विषयलाई लिएर गरिएको प्रचारलाई पनि स्टन्टको संज्ञा दिँदै त्यसरी देश नचल्ने बताए।




















प्रतिकृया