आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोक सेवा आयोगको तयारी गरिरहेका आदिवासी जनजाति समुदायका परीक्षार्थीका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानले सोमबार दोस्रो पटक सूचना जारी गर्दै इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत समुदायका उम्मेदवारलाई लक्षित गरी अप्राविधिक (प्रशासन) समूहअन्तर्गत शाखा अधिकृत र नायब सुब्बा तहको पूर्वतयारी कक्षा सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
इच्छुक उम्मेदवारले प्रतिष्ठानको वेबसाइटमार्फत अनलाइन फारम भर्नुपर्नेछ। फारम भर्दा ५०० रुपैयाँ दस्तुर इसेवामार्फत भुक्तानी गरी सोको प्रमाण आवेदनसँग संलग्न गर्नुपर्नेछ। आवेदन बुझाउने अन्तिम मिति २०८२ साल पुस १६ गते तोकिएको छ।
रीतपूर्वक आवेदन दिएका उम्मेदवारमध्येबाट छनौट गरी छनौट सूची प्रतिष्ठानको वेबसाइटमा सार्वजनिक गरिनेछ। छनौट भएका उम्मेदवारलाई लोक सेवा आयोग प्रवेशका लागि अनलाइन तयारी कक्षामा समावेश गराइनेछ।


प्रतिकृया