फोनपेले बुक बिल्डिङ विधिमार्फत आइपीओ ल्याउने
- “अहिलेको परिदृश्यमा बुक बिल्डिङ सजिलो छैन,” उनले भने, “यदि आवश्यक परे १०० रुपैयाँमै आइपीओ ल्याउनुपरे पनि कम्पनीको भ्यालु त्यहाँ पुग्छ भन्ने हाम्रो विश्वास छ।”
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपेले बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले आइपीओ निष्काशनको अन्तिम तयारी गरिरहेको जनाएको छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले आइडियाप्रेन्योर नेपालसँगको अन्तर्वार्तामा कम्पनी बुक बिल्डिङ प्रक्रियामार्फत आइपीओमा जाने निर्णयमा पुगेको बताएका हुन्। उनका अनुसार कम्पनीको सेयर मूल्य बजारले नै निर्धारण गर्नुपर्छ भन्ने मान्यताका आधारमा बुक बिल्डिङ विधि रोजिएको हो।
सीईओ सापकोटाले हाल फोनपेको सेयर कारोबार प्रतिकित्ता करिब १,३०० देखि १,४०० रुपैयाँको दायरामा भइरहेको उल्लेख गर्दै, यस्तो अवस्थामा १०० रुपैयाँ अंकित मूल्यमा मात्र आइपीओ ल्याउनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न स्वाभाविक भएको बताए। “यो ठगी गर्न वा बजारलाई भ्रममा पार्न खोजिएको विषय होइन,” उनले भने, “फोनपेको आफ्नै व्यवसायिक स्टाटस बनेको छ र कम्पनीको ब्यालेन्स शीटले पनि त्यो पुष्टि गर्छ।”
फोनपे एक नियमनमा रहेको (regulated) कम्पनी भएकाले बजारलाई गलत सन्देश दिने उद्देश्य नरहेको स्पष्ट पार्दै सापकोटाले बुक बिल्डिङ विधि कम्पनीको वास्तविक मूल्यांकन झल्काउने उपयुक्त माध्यम भएको बताए। यद्यपि, हालको बजार अवस्था र प्रिमियममा सेयर निष्कासनको जटिलताका कारण प्रक्रिया चुनौतीपूर्ण रहेको उनले स्वीकारे।
“अहिलेको परिदृश्यमा बुक बिल्डिङ सजिलो छैन,” उनले भने, “यदि आवश्यक परे १०० रुपैयाँमै आइपीओ ल्याउनुपरे पनि कम्पनीको भ्यालु त्यहाँ पुग्छ भन्ने हाम्रो विश्वास छ।”
बुक बिल्डिङमार्फत आइपीओ ल्याउने निर्णय भइसकेको र त्यसअनुसार काम अगाडि बढिरहेको सापकोटाले जानकारी दिए। तर, यो प्रक्रिया फोनपे मात्र नभई नियामक, बजार अवस्था र अन्य विभिन्न पक्षसँग जोडिएको भएकाले केही समय लाग्न सक्ने उनको भनाइ छ। फोनपेको आइपीओ निष्कासनमा करिब एक वर्षसम्म लाग्न सक्ने उनको भनाइ छ।





