लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। यसअन्तर्गत इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपछिको भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्सको प्रमाणीकरणका आधारमा हिसाब मिलान गरी यसअघि भएको दोहोरो भुक्तानी समायोजन गर्दै बाँकी रकम पनि भुक्तानी गरिएको कम्पनीले जनाएको छ।
यस विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार प्रयोग गर्ने सबै सेवा प्रदायकले कानुनअनुसार तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताएका छन्।
मन्त्री श्रेष्ठले वर्ल्डलिंकबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआतको रूपमा लिँदै अन्य सेवा प्रदायकले पनि कानुनबमोजिम आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे।
उनले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या कानुनको सीमाभित्र रहेर समाधान गरिने बताए। साथै, कानुन कार्यान्वयनलाई अनावश्यक रूपमा राजनीतिक रंग दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै सबैका लागि समान रूपमा कानुन लागू हुने सरकारको नीति रहेको स्पष्ट पारे।
प्रतिकृया