प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुनु नहुने बताएकी छन्। शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भनिन् कि शिक्षा समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन र नैतिक जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले नवीन प्रविधि र अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापलाई बढावा दिनुपर्नेमा जोड दिँदै विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सकिनु आवश्यक रहेको बताइन्। उनले भनिन्,“शिक्षालाई आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुन्छ। विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ता हो।”
प्रधानमन्त्री कार्कीले विद्यार्थी र विश्वविद्यालय दुवैलाई नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा अनुकूलन, प्रतिस्पर्धी र सक्षम बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन्। उनले थपिन्,“गुणस्तरीयतामा ध्यान केन्द्रित गर्दै विश्व बजारको माग र प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति र ज्ञान उत्पादनमा विशेष मेहनत गर्न आवश्यक देखिन्छ।”
दीक्षार्थीले प्राप्त गरेको प्रमाणपत्र केवल रोजगारीको आधार नभई, नेपाली समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी दीर्घकालीन समाधान खोज्ने क्षमताको द्योतक पनि हुनुपर्नेमा उनले जोड दिइन्।

















प्रतिकृया