भूकम्प अपडेट: काठमाडौंमा एक पुरुषले छतबाट हामफाले, बारामा विद्यार्थीहरु बेहोस
आज (मंगलबार) बिहान तिब्बतको डिंग्री काउन्टीलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालमा समेत महसुस भयो। भूकम्पको प्रभावले काठमाडौं उपत्यकासहित विभिन्न स्थानका मानिसहरू त्रसित भई घरबाहिर निस्किएका थिए।
काठमाडौंको स्युचाटारस्थित एक डेढतले घरको छतबाट त्रासमा एक पुरुषले हाम फालेका छन्। नागार्जुन नगरपालिका–१० स्युचाटारका ती पुरुषको दुवै खुट्टामा चोट लागेको छ र मनमोहन मेमोरियल अस्पतालमा उनको उपचार भइरहेको छ।
यसैगरी, बाराको कलैयास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ का ११ जना विद्यार्थी भूकम्पको ठूलो धक्का महसुस भएपछि बेहोस भएका छन्। उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले बताए।
सिन्धुपाल्चोकको भोटेकोसे गाउँपालिका–४ स्थित प्रहरी चौकी भवन चर्किएको छ भने रामेछापमा एउटा गोठमा क्षति पुगेको छ। ओखलढुंगा र सोलुखुम्बुमा पनि मानिस नबस्ने केही घरहरूमा सामान्य क्षति पुगेको जानकारी आएको छ।
नेपालमा भूकम्पले मानवीय क्षति भने नभएको प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन्।