नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले संस्थालाई महासंघमा रूपान्तरण गर्ने निर्णयसहित भदौ २४ गते विशेष साधारण सभा बोलाएको थियो। तर, यसअघि देखिएका विवाद समाधान नभइसकेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा नगर्न निर्देशन दिएपछि नाडाको तयारी अन्योलमा परेको छ।
नाडाले हालै सम्पन्न १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ समापन गर्दै आफूलाई नाडा अटोमोबाइल्स महासंघ नेपाल मा रूपान्तरण गर्ने प्रस्ताव अघि सारेको थियो। भदौ ३ देखि ८ गतेसम्म चलेको अटो शोको समापन दिनमै बसेको केन्द्रीय कार्यसमितिको २१औं बैठकले विशेष साधारण सभा मार्फत महासंघमा परिणत गर्ने घोषणा गरेको थियो।
तर, यसअघि नै विधान संशोधन र नेतृत्व विवाद टुंगोमा नपुगेको भन्दै सोमबार जिल्ला प्रशासनमा उजुरी परेपछि प्रशासनले नाडालाई विशेष साधारण सभा हाललाई रोक्न निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रमा, गैरकानूनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी यस कार्यालयमा निवेदन दर्ता भएकोले हाललाई कार्य अघि नबढाउन र सात दिनभित्र सम्बन्धित निर्णयसहित उपस्थित हुन अनुरोध गर्दछौं। भनिएको छ।
नाडाले सातै प्रदेशका प्रादेशिक एसोसिएसनलाई सक्रिय बनाउने गरी महासंघको संरचना तयार गर्ने योजना बनाएको छ। प्रत्येक प्रदेशगत एसोसिएसनलाई भूमिका दिई विभिन्न अटोसम्बन्धी गतिविधि त्यहाँबाट सञ्चालन गर्ने योजना नाडाको छ।
विवाद र विभाजनको पृष्ठभूमि
नाडाभित्रको नेतृत्व विवादले अटो क्षेत्र नै दुई खेमामा विभाजित भएको लामो समय भइसकेको छ। अध्यक्ष करण चौधरी र वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाबीचको मतभेद उत्कर्षमा पुगेपछि केही आयातकर्ताहरू छुट्टिएर नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) गठन गरेका थिए।
गोल्छा पक्षले विधान संशोधन प्रक्रिया अधुरो छ भन्दै चौधरीमाथि वरिष्ठ उपाध्यक्षलाई साधारण सदस्यमा घटाएको आरोप लगाउँदै आएको छ। चौधरी समूह भने विधान संशोधनका कागजात प्रशासनमा पठाइए पनि स्वीकृतिमा ढिलाइ भएको दाबी गर्छ। यही विषय अझै निष्कर्षमा पुग्न सकेको छैन।
नाडा–नाइमा प्रतिस्पर्धा
नाडाले विगतका वर्षहरूमा आयोजना गर्दै आएको अटो शोको समयमा, नाइमाले पनि आफ्नो प्रभुत्व स्थापित गर्ने उद्देश्यसहित नेपाल मोबिलिटी एक्स्पो साउन २१–२५ गतेसम्म सफलतापूर्वक सम्पन्न गरेको थियो। छोटो समय अन्तरमा सम्पन्न यी दुई प्रदर्शनीमा दुई संस्थाले आफू अब्बल भएको देखाउने निरन्तर प्रयास गरेका थिए।
अटो क्षेत्रमा प्रभाव जमाउने रणनीतिक पहलकै एक भागको रूपमा नाडाले महासंघमा रूपान्तरणको कदम चालेको पनि आरोप लागेको छ। अध्यक्ष चौधरीले अटो शोको समापन समारोहमै नाइमालाई लक्षित गर्दै, “नाडा अपराजित संस्था हो। यसलाई कसैले तल पार्न सक्दैन।” भनेका थिए।
विशेष साधारण सभा स्थगित भएपछि नाडाको महासंघमा रुपान्तरण गर्ने प्रस्ताव तत्कालका लागि रोकिएको छ।


प्रतिकृया