२०६३ सालअघि देश लामो समय राजनीतिक अस्थिरतामा फसेको थियो। देशभर फैलिएको अशान्तिको अन्त्यपछि मुलुकको आगामी दिशा के होला? व्यवसायिक वातावरण बन्नेछ, कि अझै समय अशान्तिमै बित्ने हो भन्ने द्विविधा थियो। यस्तै परिवेशमा, देशको आर्थिक भविष्यप्रति आशावादी देखिन्छन् विष्णु ओझा।
२०६४ साल, बानेश्वर चोकको चिया पसल; सधैंझैं, दुई युवा साथीहरू आफ्नो दिनभरको व्यस्तता पछि चिया पिउन भेटिन्छन्। सँगै स्नातक अध्ययन गरेका विष्णु ओझा र रत्न श्रेष्ठ। ब्रोकरमा काम गर्दै आएका विष्णु नेपालको आगामी आर्थिक भविष्य प्रति आशावादी थिए। यहीबीच, नेपाल धितोपत्र बोर्डले थप २७ वटा ब्रोकर लाइसेन्स जारी गर्ने सूचना प्रकाशित गर्यो।त्यसबेला, सीमित लगानीकर्ता मात्रै सेयर बजारमा सक्रिय थिए। यस अवस्थालाई बदल्न र सम्भावना देखेर विष्णु र रत्नले आफ्नै ब्रोकर सञ्चालन गर्ने सोच बनाउन थाले। विष्णुका लागि यो योजना ‘ड्रिम प्रोजेक्ट’ थियो।
अन्ततः दुवै साथीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिने र ब्रोकर सञ्चालन गर्ने निष्कर्षमा पुगे।
कैलालीमा जन्मिएका विष्णु २०५३ मा एसएलसी पास गरेर उच्च शिक्षा हासिल गर्न राजधानी आएका थिए। बाल्यकालदेखि नै व्यवसायिक सोच राख्ने विष्णुले स्नातक र स्नातकोत्तर व्यवस्थापन विषयमा पूरा गरे। ‘साथीहरूले खेलकुद र अन्य गतिविधिमा चासो देखाउँथे। तर म भने व्यापार गर्ने कुरा सोच्थेँ,’ उनी सम्झन्छन्। ‘भारतसँगको सीमा नजिकै घर भएकाले सीमापार मिठाई सस्तोमा किनेर ल्याउँथे र यता साथीहरूलाई बेच्थे।’
त्यस समय बिस्तारै सूचना प्रविधिका विषयमा चर्चा बढ्न थालेको थियो। व्यवस्थापनमा स्नातक पूरा गरेका विष्णुले यो क्षेत्रमा अघि बढ्ने निर्णय गरे। अध्ययनकै क्रममा उनले एभरेस्ट इन्टरनेटमा काम गर्न थाले। पछि इन्फोसिस नेपालमा थप अनुभव बटुले।
अष्ट्रेलियामा उनको सम्पर्कमा रहेका साथीहरु नेपालमा ईन्टरनेट सेवा दिन पर्सनल ब्रोडब्यान्ड अष्ट्रेलियाको प्रविधिक सहयोग सहित नेपाल फर्किएका थिए। बिष्णुले सो कम्पनीको मार्केटिङ्गको जिम्मेवारी लिए।
कामसँगै उनले साझेदारी लगानीमा कालिमाटीमा कम्प्युटर पसल पनि सञ्चालन गरे। तर, दुर्भाग्यवश पसलमा आगलागी हुँदा सम्पूर्ण लगानी केही समयमै खरानीमा परिणत भयो। ‘धेरै मेहनत गरेर बनाएको कम्प्युटर पसल एकैछिनमा समाप्त भयो। यता, अष्ट्रेलियाबाट ल्याइएको प्रविधिले पनि नेपाली बजारमा अपेक्षित नतिजा दिन सकेन,’ उनी सम्झन्छन्। ‘त्यसपछि के गर्ने भन्ने दोधारमा परियो।’
यसैबीच, २०५९ सालमा विष्णुको परिचय अष्ट्रेलियन प्रविधि भित्राएका लगानीकर्ताहरूको माध्यमले ब्रोकर नं १० का सञ्चालक विरेन्द्र राज खरेलसँग भयो।
त्यस समय नेप्सेलाई डिजिटल कारोबार प्रणालीमा लैजानुपर्छ भन्ने बहस अघि बढ्दै थियो। ब्रोकरहरूले थप व्यवसायिक भएर काम गर्नुपर्ने फ्रेमवर्क निर्माण हुँदैथियो। सूचना प्रविधि क्षेत्रमा लामो अनुभव र कम्प्युटरमा राम्रो दखल भएका विष्णुलाई ब्रोकर नं १० बाट काम गर्ने प्रस्ताव आयो। सुरुमा उनले सूचना प्रविधिको क्षेत्र छाड्ने सोच गरेका थिएनन्, जसकारण प्रस्ताव अस्वीकार गरे। यद्यपि, आबद्ध इन्टरनेट कम्पनीले अपेक्षित प्रगति गर्न नसकेपछि, दोस्रो पटक आएको प्रस्ताव स्वीकार गर्दै उनी ब्रोकर नं १० मा जोडिए।
‘ब्रोकरमा काम सुरु गरेपछि बल्ल आफू के गर्न जन्मिएको रहेछु भन्ने महसुस भयो,’ विष्णु सम्झिन्छन्। उनी थप्छन्, ‘ब्याचलर र मास्टर गर्दा सिकेका कुराहरू सूचना प्रविधि क्षेत्रमा प्रयोग गर्न नपाउँदा खल्लो लाग्थ्यो। तर ब्रोकरमा जोडिएपछि अकाउन्ट, फाइनान्स, सबै कुरा एकै ठाउँमा जोडिएजस्तो भयो। काम गर्न रमाइलो लाग्न थाल्यो।’
ब्रोकरमा काम गर्दै विष्णुले अनुभव बटुल्न थाले। २०६४ सालमा नयाँ ब्रोकरलाई लाइसेन्स दिने सूचना प्रकाशित भएपछि, उनले आफ्नै ब्रोकर सञ्चालन गर्ने योजनालाई ड्रिम प्रोजेक्टको रूपमा अगाडि बढाए। वानेश्वरको चिया पसलमा उनीहरूले ब्रोकर सञ्चालनका योजनाहरू तयार पार्न थाले—नाम के राख्ने, कस्तो ढाँचामा सञ्चालन गर्ने आदि।
बिष्णुले ब्रोकरमा काम गर्दै अनुभव बटुल्न थाले। २०६४ मा नयाँ ब्रोकरलाई लाइसेन्स दिने भएपछि उनले आफ्नै ब्रोकर सञ्चालन गर्ने योजनालाई ड्रिम प्रोजेक्टको रुपमा लिए। वानेश्वरको चिया पसलमा उनीहरूका ब्रोकर सञ्चालन गर्ने योजनाहरू बन्न थेले। नाम के राख्ने के गर्ने सबै।
ब्रोकर सञ्चालन गर्ने निर्णयभन्दा ब्रोकरको नाम चयन गर्न भने लामो समय लाग्यो। विष्णु सम्झिन्छन्, ‘नाम के राख्ने भनेर धेरै सोच्यौं। मलाई ठेट नेपाली नाम राख्ने मन थियो। एकदिन कम्पनीको नाम लेख्दै गर्दा “दियो” को प्रतीकले प्रेरित ग-यो, र हामीले कम्पनीको नाम दिपशिखा राख्ने निधो गर्यौं। ठेट नेपाली शैलीमा “धितोपत्र कारोबार कम्पनी” थप्यौं। यसरी दिपशिखा धितोपत्र कारोबार कम्पनीको जन्म भयो।’

स्नातक पढ्दैका साथी दीपक राज ओलीसँग मिलेर विष्णुले ब्रोकर सञ्चालनको लाइसेन्सका लागि २०६४ सालमा आवेदन दिए। तर अन्तिम समयमा लाइसेन्स दिने प्रक्रिया रोकियो। विष्णु भन्छन्, ‘ड्रिम प्रोजेक्ट नै थियो। ब्रोकर चलाउनुपर्छ भन्ने मनैदेखि लागेको थियो। तर प्रक्रिया रोकिएपछि आशा मर्न थाल्यो। अर्को वर्ष पनि लाइसेन्स खुलेन, अब कम्पनीलाई कसरी अगाडि बढाउने भन्ने विकल्प सोच्न थाल्यौं। कम्पनीलाई यसै मर्न दिन चाहेका थिएनौं, त्यसैले दुई वर्षसम्म नवीकरण गरिरह्यौं। अन्ततः २०६७ मा फेरि लाइसेन्सका लागि आवेदन माग गरियो।’
लाइसेन्सको लागि धितोपत्र बोर्डले विभिन्न क्राइटेरिया राखेको थियो। शिक्षा, पूँजी, अनुभव, र प्रशिक्षण गरेर कुल ७५ अंक र बाँकी २५ अंक लिखित परीक्षाको लागि छुट्याइएको थियो।
‘२७ ओटा ब्रोकर मागिएकोमा ३०० बढी व्यक्तिहरूले आवेदन दिएका थिए। अंकका आधारमा हामी ११९औं स्थानमा थियौं। अब बाँकी १०० कम्पनीलाई पछि पार्नुपर्ने चुनौती थियो। तर लिखित परीक्षामा सफलता प्राप्त गर्ने आत्मविश्वास थियो। दीपक जीले लिखित परीक्षा दिनुभएको थियो। पुल्चोकमा परीक्षा भएको थियो। उहाँको ज्ञान र भगवानको आशीर्वादले २५ मध्ये २१.५ अंक ल्याउनुभयो। लिखित परीक्षामा हामी पहिलो स्थानमा रह्यौं,’ विष्णु सम्झिन्छन्।
उनी थप्छन्, ‘परीक्षाको नतिजा थाहा पाउँदाको पल आज पनि मेरो आँखामा ताजा छ। तीन वर्षको प्रतीक्षा थियो। परीक्षा पुल्चोकमा हुँदै थियो। दीपक जी परीक्षा दिँदै हुनुहुन्थ्यो, तर उहाँभन्दा बढी छटपटी मलाई भएको थियो। दुई घण्टाको परीक्षा मलाई जीवनकै लामो अवधि लाग्यो। उहाँ भित्र परीक्षा दिइरहनुभएको थियो, म बाहिर घरी यता घरी उता छटपटिँदै हिँडिरहेको थिएँ। सोही दिन बेलुका ८ बजे नतिजा आयो, हाम्रो नाम परेको थाहा पाएपछि उत्साहको कुनै सीमा रहेन।’
तर ब्रोकर लाइसेन्स लिन आवेदन दिन पनि सहज थिएन। सबैभन्दा ठूलो चुनौती पूँजी जुटाउने थियो। विष्णुलाई तत्कालै २५–३० लाख रुपैयाँ आवश्यक थियो। बाँकी रकम उनका पार्टनरले जुटाउने थिए। उनले एकै पटक घरबाट त्यति ठूलो रकम माग्ने आँट गर्न सकेनन्। न त जमानी राखेर कर्जा लिने कुनै स्रोत थियो।
त्यही बेला उनका भिनाजुले सहयोग गरे। विष्णुका भिनाजुले व्यक्तिगत जमानी राखेर ३० लाख रुपैयाँ लोन दिलाए। ‘भिनाजुको सहयोगले मेरो ब्रोकर सञ्चालन गर्ने सपनाले थप सार्थकता पायो,’ विष्णु सम्झन्छन्।
दीपक राज ओली र विष्णु ओझाले २०६७ भाद्रमा ५१ लाख रुपैयाँको पुँजीबाट दिपशिखा धितोपत्र कारोबार कम्पनीको यात्रा सुरु गरे।
विष्णु सम्झिन्छन्, ‘सञ्चालनको पहिलो वर्ष २०६८ भाद्रसम्म लगानीकर्ताको संख्या १००-१५० थियो, जसमा सक्रिय कारोबार गर्ने लगानीकर्ता जम्मा २०-२२ थिए। पहिलोपटक ७ लाखको कारोबार हुँदा सबै लगानीकर्ता भेला भएर मःमः पार्टी गरेका थियौं। कारोबार डिजिटल नहुँदा सेटलमेन्ट गर्न हामी रातभर अनिधो काम गर्यौ। हामीलाई त्यही काम रमाइलो लाग्थ्यो।’
ब्रोकरको सफलताको बारेमा विष्णुलाई सोध्दा उनी भन्छन्, ‘ग्राहकलाई सही व्यवहार गरेर परिवारको सदस्यझैँ मान्यौं। यही व्यवहारले हामीलाई अहिलेको स्थानमा ल्यायो। अहिले दिपशिखामा कारोबार गर्ने लगानीकर्ताको संख्या २ लाखभन्दा बढी पुगेको छ। हाम्रो ब्रोकरले राम्रो ब्रान्ड इमेज सृजना गर्न सफल भएको छ।’

दिपशिखाले राजधानी बाहिरका ठाउँहरूमा ब्रोकर विस्तारको नेतृत्व गर्यो। सुदूरपश्चिमको पहिलो ब्रोकर शाखा धनगढीमा खोल्ने ब्रोकर दिपशिखा बन्यो। हालसम्म दिपशिखाले धनगढी, महेन्द्रनगर, चितवन, दोलखा, लम्की, र लहानसहित सात ठाउँमा शाखा विस्तार गरेको छ।
नयाँ लगानीकर्तालाई समावेश गर्न र जनतामाझ लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्न दिपशिखाले विभिन्न स्थानीय तहसम्म पुगेर कार्यक्रम गर्दै आएको छ। देशभरका वडास्तरका कार्यक्रमहरूमार्फत नयाँ लगानीकर्ता जोड्दै जान सफल भएको विष्णु बताउँछन्।
सामाजिक सञ्जालमा ब्रोकरसँगको कारोबार अनुभवबारे लगानीकर्ताले उठाउने गुनासोबारे विष्णु भन्छन्, ‘काम गर्दै जाँदा कहिलेकाहीं गुनासा आउँछन्। हामी कमजोरी नलुकाई स्वीकार गर्छौं र सच्याउने प्रयास गर्छौं।’

दिपशिखाले लगानीकर्ताका गुनासा सुन्न डेडिकेटेड कल सेन्टर सञ्चालनमा ल्याउन लागेको छ। साथै, विदेशबाट लगानी गर्ने लगानीकर्ताहरूका लागि डेडिकेटेड सिस्टम चाँडै सार्वजनिक गर्न लागिएको उनले जानकारी दिए।
उनी भन्छन्, “हामीले सुरुवातमा सोचेजस्तो सजिलो थिएन, तर विश्वास थियो केही न केही गर्न सकिन्छ भन्ने। त्यही विश्वासले नै हाम्रा हरेक चुनौतीलाई पार गर्न मद्दत गर्यो। भविष्यमा, हामी अझ राम्रो सेवा दिदै, नयाँ प्रविधि र अवधारणाको प्रयोगमार्फत सेयर बजारलाई अझै व्यवस्थित बनाउने लक्ष्य राखिरहेका छौं।”

प्रतिकृया