१३ हजार ८५० करोड भारु घोटालाका आरोपी हीरा व्यापारी चोक्सी बेल्जियममा पक्राउ
भारतको बहुचर्चित पञ्जाब नेशनल बैंक (PNB) घोटालाका फरार अभियुक्त तथा हीरा व्यापारी मेहुल चोक्सीलाई बेल्जियम प्रहरीले अप्रिल १२ मा पक्राउ गरेको छ। भारतीय अनुसन्धान एजेन्सीहरूको प्रत्यर्पण अपिलपछि उनलाई पक्राउ गरिएको हो। हाल चोक्सी जेलमा छन् र भारतले उनको सुपुर्दगीको प्रक्रिया अघि बढाइसकेको छ।
पक्राउका लागि मुम्बई अदालतद्वारा जारी दुई फरक पक्राउ वारेन्टहरू (मे २३, २०१८ र जुन १५, २०२१) का आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार चोक्सीले आफ्नो खराब स्वास्थ्यको कारण देखाउँदै जमानत र तत्काल रिहाइको माग गर्न सक्ने अनुमान गरिएको छ।
चोक्सीमाथि झण्डै ₹१३,८५० करोडको बैंक घोटालामा संलग्न भएको आरोप छ। उनी गत महिना बेल्जियममा रहेका पत्ता लागेका थिए। रिपोर्ट अनुसार उनी आफ्नी श्रीमती प्रीति चोक्सीसँग एन्टवर्पमा बसिरहेका थिए। प्रीति चोक्सी बेल्जियमकी नागरिक भइसकेकी छन्। बेल्जियमको विदेश मन्त्रालयले मेहुलको उपस्थितिबारे भारतलाई जानकारी गराएको थियो। स्रोतहरूका अनुसार चोक्सी स्विट्जरल्यान्ड भाग्न खोजिरहेका थिए।
उनका कानुनी प्रतिनिधि विजय अग्रवालले चाँडै नै जमानतको लागि अपिल दायर गर्ने बताएका छन्। अपिलमा चोक्सीलाई हिरासतमा नराखी सुपुर्दगी प्रक्रियाको विरोध गर्न र आफ्नो पक्षमा बहस गर्न स्वतन्त्रता दिइनुपर्ने माग गरिनेछ।
वकिल अग्रवालले चोक्सीको स्वास्थ्य गम्भीर भएको उल्लेख गर्दै भने, “उहाँ क्यान्सरको उपचार गराइरहनुभएको छ र भारतका जेलहरूको अवस्था निकै खराब छ। यो मुद्दा पूर्ण रूपमा राजनीतिक हो।” साथै उनले चोक्सी भाग्ने जोखिम नरहेको पनि दाबी गरेका छन्।
(एजेन्सीहरुको सहयोगमा)