उपमेयर डङ्गोलले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को फेसबुक स्ट्याटसप्रति असन्तुष्टि प्रकट गरेकी छन्।
उनले भनिन्, “छानबिन समितिले के गर्ने भन्ने टुंगो नलागुञ्जेल केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउनु, कारबाही गर्नु वा उहाँको सट्टामा नयाँ अधिकृत पठाउन किन नपठाएको भन्ने निरन्तर आरोप लगाउनु ठीक होइन।” शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले थपिन्, “आफ्नो कर्तव्य पूरा नगरी अरूलाई आरोप लगाउनु उचित होइन भन्ने लाग्छ।”
बालेन, उपमेयर सुनीता डङ्गोलसहित सम्पूर्ण कर्मचारीले पुस र माघ महिनाको तलब पाएका छैनन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब भुक्तानी रोकिएको हो।
महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेपछि छानबिन प्रक्रिया लम्बिएको छ। संघीय सरकारले नयाँ अधिकृत नपठाएपछि मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत पत्र लेख्दै ‘भोको पेट मारेर मलाई हराउन खोज्नुभएको छ’ भन्ने टिप्पणी गरेका थिए।



















प्रतिकृया