बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा जेन जी युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग आवद्ध समूहबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम मंसिर ३ गते दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्मका लागि कर्फ्यु लगाइएको जानकारी दिएका छन्।
सिमरा विमानस्थल वरपर उत्पन्न स्थिति संवेदनशील बन्दै गएपछि प्रहरीले सुरक्षात्मक सावधानीका उपायहरू कडा पार्दै भीड, जुलुस, सभा, प्रदर्शन र कुनै पनि प्रकारको समूहगत गतिविधि नगर्न आग्रह गरेको छ। जारी कर्फ्यु अनुसार गड्ढा नहरदेखि पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थलको चारैतिर ५०० मिटर परिधिमा आम नागरिकको आवागमन पूर्ण रूपमा निषेध हुनेछ।
प्रशासनले स्वास्थ्य, एम्बुलेन्स, दमकल, सञ्चार, ऊर्जा, बैंकिङ, पर्यटन, खाद्यान्न ढुवानीलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई भने कर्फ्युबाट छुट दिएको छ। सुरक्षा चुनौती बढ्दै गएको ठहर गर्दै प्रशासनले सबै पक्षलाई कर्फ्यु आदेश कडाइका साथ पालना गर्न अपिल गरेको छ।

प्रतिकृया