आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जित्ने विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिवकृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ता रहेको खुलेको छ। विभागले शुक्रबार पहिलो पटक उपहार विजेता घोषणा गर्दै विजेताको नाम भने सार्वजनिक गरेको छैन।
विभागका अनुसार ००७३१५२५४४९३ कुपन नम्बर भएका उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्। उपहार रकममा २५ प्रतिशत कर कट्टी हुने भएकाले उनले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा विभागले बम्पर विजेतासहित अन्य उपहार विजेताको घोषणा गरेको हो। बम्पर उपहारअघि १५ जना विजेतालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको थियो।
यो कार्यक्रम करदातालाई बिल लिन र विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याइएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्यक्रम चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेका थिए।
पहिलो चरणमा साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका योग्य उपभोक्तामध्येबाट विजेता छनोट गरिएको विभागले जनाएको छ।
यसैबीच, करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि prize.ird.gov.np नामक नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ। नगद भुक्तानी गरी व्यक्तिगत प्रयोजनका लागि नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गरी सक्कली बिल लिएका उपभोक्ताले उक्त वेबसाइटमा बिल अपलोड गरेर कार्यक्रममा सहभागी हुन सक्नेछन्।
बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत १०० रुपैयाँभन्दा बढीको भुक्तानी गर्ने उपभोक्ता भने स्वतः कार्यक्रममा सहभागी हुनेछन्। उनीहरूले बिल अपलोड गर्नुपर्ने छैन, तर कारोबारको ट्रान्ज्याक्सन विवरण सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।
कार्यविधिअनुसार अब हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि) नियमित रूपमा उपहार घोषणा गरिनेछ।

प्रतिकृया