नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि तत्काल अनुसन्धान गर्न माग गरेको छ।
सम्पत्ति विवरणसम्बन्धी विवादका कारण गुरुङमाथि प्रश्न उठिरहेका बेला कांग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै उनको विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने धारणा सार्वजनिक गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो।”
कांग्रेसले अनुसन्धानलाई निष्पक्ष बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। साथै, गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त सुरु गर्न सरकारसँग स्पष्ट माग गरेको छ।
विज्ञप्तिमा थप भनिएको छ, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउनेछ।’


प्रतिकृया