सरकारले सन् २०२५ को अंग्रेजी नयाँ वर्ष (२०७८ पुस १७) देखि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको छ। यो निर्णय निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, र स्थानीय सरोकारवालाको बैठकबाट गरिएको हो।
निकुञ्जले सबै हेलिकप्टर कम्पनीलाई पत्र पठाउँदै उक्त निर्णयको जानकारी गराएको छ। अबदेखि पर्यटक र स्थानीयको उद्धार तथा मालसामान ढुवानीबाहेक अन्य व्यावसायिक हेलिकप्टर उडान निषेध गरिएको छ। हेलिकप्टर उडान तथा अवतरणका लागि निकुञ्ज कार्यालयबाट अनुमति अनिवार्य गरिए पनि यसअघि प्रभावकारी नभएको र राजस्व चुहावट भएको कारण रोक लगाइएको हो।
साथै, हेलिकप्टरको मनपरी उडानले वन, वातावरण, वन्यजन्तु र मानव बस्तीमा ध्वनि प्रदूषण तथा अन्य समस्या थपिएको निकुञ्ज कार्यालयले जनाएको छ।
पर्यटन र उद्धारसँग सम्बन्धित उडान भने निश्चित सर्तसहित अनुमति दिइनेछ। उद्धारका लागि स्वास्थ्य संस्था, उपभोक्ता समिति वा वडा कार्यालयको सिफारिस र निकुञ्जबाट पूर्वसहमति आवश्यक हुनेछ। उद्धार हुने व्यक्तिको विवरण निकुञ्जमा पेस गर्नुपर्नेछ भने उद्धारबाहेक अन्य यात्रु ओसारपसारमा पूर्णरूपले रोक लगाइएको छ।
खुम्बु क्षेत्रका लागि आवश्यक सामग्री ढुवानीका लागि पूर्वसहमतिको आधारमा मात्र कार्गो उडान गर्न पाइनेछ। तर, सगरमाथा आरोहणका लागि पाङबोचेभन्दा माथि कार्गो अवतरण गर्न रोक लगाइएको छ। यो निर्णयले सगरमाथा क्षेत्रको पर्यावरणीय सुरक्षा र दीर्घकालीन संरक्षणमा योगदान दिने अपेक्षा गरिएको छ।


















प्रतिकृया