क्यापिटल मर्चेन्ट बैंकिङ्गको १३ वर्षको साधारण सभा एकै पटक सम्पन्न, केके प्रस्ताव भए पारित ?
क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले अध्यक्ष तिलक बहादुर रानाभाटको अध्यक्षतामा आर्थिक वर्ष २०६७/०६८ देखि २०७९/०८० सम्मका लागि वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
नेपाल राष्ट्र बैंकले कम्पनीलाई २०६९ सालमा समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैंकिङ कारोबारमा रोक लगाएपछि कम्पनीको साधारण सभा हुन सकेको थिएन। तर, वित्तीय अवस्था सुधार गर्दै बाँकी लेखा परीक्षण कार्यहरू सम्पन्न गरिसकेपछि राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी कम्पनीले १३ वर्षको साझा साधारण सभा आयोजना गरेको हो।
सभाले विगत १३ आर्थिक वर्षको वित्तीय विवरण पारित, लेखा परीक्षकको नियुक्ति अनुमोदन, सञ्चालक समितिमा भएको परिवर्तन स्वीकृत, ऋण असुली कार्यहरूको अनुमोदन, संस्थाको नाम परिवर्तन तथा गाभिने वा प्राप्ति सम्बन्धी प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
संस्थाको विनियमावली अनुसार भएको निर्वाचनमा संस्थापक सेयरधनीतर्फबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल र रञ्जन रायमाझी तथा सर्वसाधारण सेयरधनीतर्फबाट निर्मल दाहाल र मोहन खड्का निर्विरोध निर्वाचित भएका छन्। यस्तै, स्वतन्त्र सञ्चालकमा राजेश्वर श्रेष्ठ चयन भएका छन्।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले अहिलेसम्मका कामकारवाही र वित्तीय अवस्थाको विस्तृत जानकारी प्रस्तुत गरेका थिए। उनले संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका सुधार योजनासहित कम्पनीलाई पुनः सामान्य बैंकिङ कारोबारतर्फ लैजाने लक्ष्य रहेको उल्लेख गरे। साथै, राष्ट्र बैंकमा समस्याग्रस्त संस्थाको सूचीबाट हटाउन निवेदन पेश गरिने जानकारी समेत दिए।