थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार पदबाट निलम्बन गरेको छ। कम्बोडियासँगको सीमा विवादमा उनले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरेको आशंकामा अदालतले छानबिन सुरु गर्दै उनीमाथि अस्थायी निलम्बन लागू गरेको हो।
थाइल्यान्डको राजनीति दशकौंदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको संघर्षमा घेरिएको छ। यो अभिजात वर्गले सिनावात्रा परिवारलाई परम्परागत सामाजिक संरचनाका लागि खतरा मान्दै आएको छ।
३८ वर्षीया पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेकी थिइन्। निलम्बनकै दिन उनका बुबा तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भने शाही मानहानिको अभियोगमा अदालतमा उपस्थित भएका थिए।
मे महिनामा कम्बोडियासँगको सीमा विवाद एक सशस्त्र झडपमा परिणत भएको थियो, जसमा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो। त्यही सन्दर्भमा पेटोङटार्न र कम्बोडियाका पूर्व नेता हुन सेनबीचको गोप्य फोनवार्ता लिक भएपछि विवाद चर्किएको हो। फोनवार्तामा उनले हुन सेनलाई ‘काका’ भनेकी थिइन् भने एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेकी थिइन्, जसले देशभित्र आक्रोश पैदा गर्यो।
रूढीवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र थाई सेनाको सम्मानमा आँच पुर्याएको आरोप लगाए। साथै, उनले संवैधानिक रूपमा आवश्यक ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्ड’ उल्लंघन गरेको दाबी गरियो।
संवैधानिक अदालतले ७–२ को मतले निर्णय गर्दै उनलाई आगामी फैसलासम्म प्रधानमन्त्रीको जिम्मेवारीबाट निलम्बन गरेको जनाएको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया