नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ ‘भृकुटी स्टक ब्रोकिङ कम्पनी’लाई निलम्बन गर्दै स्पष्टीकरण सोधेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको लाइसेन्स निलम्बन गर्ने निर्णय गर्दै कानुनी प्रावधान उल्लंघनबारे जवाफ मागेको हो। बोर्डका अनुसार कम्पनीले व्यवसायी दीपक भट्टलाई उधारोमा सेयर कारोबार गराएको, भुक्तानी नलिई सेयर हस्तान्तरण गरेको र अनिवार्य २५ प्रतिशत मार्जिन नलिएको आरोप लागेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रारम्भिक तथ्यांक अनुसार उनले करिब ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको अनियमितता गरेको देखिएको छ। हिमालयन रिइन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्स्योरेन्सको रकम दुरुपयोग गर्दै दोस्रो बजारमा सेयर खरिद गरिएको अनुसन्धानले देखाएको छ। भुक्तानी विभिन्न व्यक्ति र संस्थाको खाताबाट गरिएको पाइएको छ।
बोर्डले भृकुटी स्टकले केवाईसी प्रक्रिया पूरा नगरेको, कोल्याट्रल नलिएको, नेप्से तथा बोर्डका निर्देशन उल्लंघन गरेको र भुक्तानी प्रणालीमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ। केही अवस्थामा भुक्तानी नगरी सेयर हस्तान्तरण गरिएको समेत भेटिएको छ।
धितोपत्र ऐनको दफा ८८ अनुसार कम्पनीलाई ३ महिनाका लागि निलम्बन गरी जरिवाना गर्ने निर्णय गरिएको छ। यससँगै कम्पनीले अर्को आदेश जारी नभएसम्म सेयर कारोबार गर्न पाउने छैन।

















प्रतिकृया