नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी र सेवाग्राहीको हितलाई ध्यानमा राख्दै नयाँ व्यवस्था लागू गरेको छ। अब बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा लगाउँदा प्रचलित कानूनअनुसार अतिरिक्त पारिश्रमिक (ओभरटाइम) दिनुपर्ने भएको छ। साथै, कुनै पनि कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रचलित कानून र निर्देशनको पालना गर्दै मात्रै काममा लगाउनुपर्ने उल्लेख छ।
त्यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ। राष्ट्र बैंकले त्यस्ता सेवाग्राहीका लागि विशेष काउण्टर तोकी सेवा दिन निर्देशन दिएको हो।
निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ। त्यस्ता शाखाको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, एटिएम लाउञ्ज भएका स्थानमा ब्रेल साइन कन्ट्रोल बटन र अडियो सपोर्टसहित कम्तीमा एउटा अपाङ्गमैत्री एटिएम राख्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो एटिएमको विवरण पनि सम्बन्धित संस्थाले वेबसाइटमा राख्नुपर्नेछ।
राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्तिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएमजस्ता वित्तीय सेवा स्वयं प्रयोग गर्न सक्ने स्वघोषणाको आधारमा सेवा उपयोग गर्न सक्ने व्यवस्था समेत गरेको जनाएको छ।


प्रतिकृया