२०७९ अशोजको कुरा हो। मुद्दती निक्षेपको ब्याजदर १५ प्रतिशत भन्दा माथि पुगेको थियो। प्रभु बैंकले ३ महिना वा सो भन्दा बढीको प्रभु उन्नती मुद्दती नामक निक्षेप खातामा १५.१३ प्रतिशत ब्याजदर प्रकाशित गरेको थियो। प्रभुले रेमिट्यान्स निक्षेप खातामा यस्तो ब्याजदर दिने घोषणा गरेको थियो। तत्कालिन एनसीसी, सनराईज, प्राइम कमर्सियल लगायतका बैंकहरुले रेमिट निक्षेपमा १५% हाराहारीकै ब्याजदरको अफर गरेका थिए। त्यतिबेला सबै वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा १२.०३% ब्याज दिने सुचना प्रकाशित गरेका थिए। त्यो समय बैंकिंग प्रणालीमा तरलताको हाहाकार भएको अवस्था थियो।
सरकारको चालु खाता १०६ अर्ब ८ करोडले घाटामा थियो। महंगी अत्याधिक बढेको अवस्था थियो। मुद्रास्फीति ८.६४% थियो। शोधनान्तर स्थिती २३ अर्ब ६८ करोडले घाटामा थियो। निक्षेप सँगै कर्जाको ब्याजदर पनि उच्च रुपमा बढेको अवस्था थियो। वाणिज्य बैंकहरुमै कर्जाको ब्याजदर १७%-१८% प्रतिशत सम्म पुगेको अवस्था थियो त्यो।
बिस्तारै शोधनान्तर बचतमा जान थाल्यो। आयातमा उच्च गिरावट आउने र रेमिट्यान्स बढ्ने क्रम सुरु भएसँगै मुलुकबाट बाहिरिने पैसाभन्दा मुलुकमा भित्रिने पैसा बढ्न थाल्यो। बैंकिंग प्रणालीमा तरलता बढ्दै गयो। कर्जाको मागमा गिरावट आउन थाल्यो। बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थाले। निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको बेस रेट पनि घट्दै गयो जसले कर्जाको ब्याजदर पनि घटायो।
३ महिनादेखि ब्याजदर साइडवेजमा
विगत ३ महिनादेखि निक्षेपको ब्याजदर स्थिरजस्तै छ। कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरुले अफर गरेको औसत ब्याजदर ६.३९% थियो भने संस्थागत तर्फ ५.१०% थियो। मङ्सिरमा बैंकहरुले ब्याजदर घटाए। मङ्सिरमा वाणिज्य बैंकहरुले अफर गरेको व्यक्तिगत मुद्दती तर्फको उच्चतम ब्याजदर ५.९७% थियो भने संस्थागत तर्फको ४.६४% थियो। पुषमा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती तर्फ अफर गरेको अधिकतम ब्याजदरको औसत ६.०१% थियो भने संस्थागत तर्फको ४.५२% थियो। माघमा त्यस्तो ब्याजदर व्यतिगत तर्फ ६.००१% र संस्थागत तर्फ ४.५०% रहेको थियो। पछिल्लो ३ महिनाको ट्रेन्ड हेर्दा निक्षेपको ब्याजदर साइडवेज ट्रेन्डमा देखिन्छ। मुद्दती निक्षेपको ब्याजदर यो बिन्दुभन्दा धेरै नघटोस् भन्ने राष्ट्र बैंकको चाहना र बिस्तारै कर्जाको माग बढ्दै गएको अवस्थालाई विश्लेषण गर्दा निक्षेपको ब्याजदर जति घट्नुपर्ने घटिसकेको र यो भन्दा तल नजाने विश्लेषण बैंकरहरुले गरेका छन्। ‘ब्याजदरले बटम लगाएको अवस्था हो, अब यो भन्दा तल जाँदैन, अझै केहि समय साइडवेज रहला तर अब बढ्दो ट्रेन्डमै जाने देखिन्छ’, एक वाणिज्य बैंकका उच्च अधिकारीले आफ्नो विश्लेषण सुनाउँदै भने।

फाल्गुनमा के होला ?
बैंकहरुले माघ मसान्तमा फाल्गुनका लागि निक्षेपको ब्याजदर तोक्नेछन। माघ २७ गतेसम्मको तथ्याङ्क हेर्दा बैंक वित्तिय संस्थाहरुले २५७ अर्ब रुपैयाँ ३% ब्याजमै राष्ट्र बैंकमा जम्मा गरेको देखिन्छ। स्थायी तरलता सुविधा अन्तर्गत बैंक वित्तिय संस्थाहरुले ३ दिनका लागि राष्ट्र बैंकमा पैसा राख्न पाउँछन् जसमा राष्ट्र बैंकले ३% ब्याज दिने गर्दछ। यतिबेला बैंक वित्तिय संस्थाहरुले स्थायी तरलता सुविधा अन्तर्गत ४२ अर्ब ४० करोड रुपैयाँ रकम राष्ट्र बैंकमा राखेका छन्। निक्षेप संकलन बोलकबोल र स्थायी तरलता सुविधा गरी बैंक वित्तिय संस्थाहरुले राष्ट्र बैंकमा राखेको कुल रकम २ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ रहेको छ। निक्षेप बोलकबोलमा पनि राष्ट्र बैंकले ३% भन्दा बढी ब्याज राखेर गरिएका बिड स्वीकार गरेको देखिएको छैन। यसरी अहिलेको अवस्थामा बैंकहरुले करिब २ खर्ब ५७ अर्ब रुपैयाँ ३% ब्याजमै राष्ट्र बैंकमा जम्मा गरेको देखिएको छ। दोश्रो त्रैमासको रिपोर्ट अनुसार कमर्सियल बैंकहरुकै कस्ट अफ फन्ड ५% आसपास छ। ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्तिय संस्थाहरुको कस्ट अफ फन्ड त अझै धेरै छ। आफ्नै लागत ५% भन्दा माथि परेको खरबौं रकम ३% ब्याजमै राष्ट्र बैंकलाई दिनुपर्ने वाध्यतामा बैंक वित्तिय संस्थाहरु हुनु भनेको तरलता फालाफालको अवस्था हो।
| तरलता फालाफाल; बैंकहरुले ३% ब्याजमै राष्ट्र बैंकमा राखिरहेका छन् २ खर्ब ५७ अर्ब
यस्तो अवस्थामा केहि बैंक वित्तिय संस्थाहरुले फाल्गुनमा ब्याजदर बढाए पनि अधिकांशले स्थिर राख्नसक्ने देखिन्छ। ब्याजदर अहिलेको सीमाभन्दा थप घट्ने सम्भावना नरहे तापनि व्हात्तै बढ्ने अवस्था पनि नरहेको जानकारहरु बताउँछन्। ‘सरकारले पूँजीगत खर्च बढाउने तेस्रो र चौथो त्रैमासमा हो। त्यसले पनि तरलताको अवस्था थप सहज गराउनेछ। आगामी दिनमा कर्जाको माग कस्तो हिसाबले आउँछ त्यसले ब्याजदरको ट्रेन्ड निर्धारण गर्छ; अहिलेलाई केहि समय ब्याजदर साइडवेज नै हो।’ एक राष्ट्रिय स्तरको विकास बैंकका सीईओले आफ्नो विश्लेषण सुनाए।


प्रतिकृया